२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

जापानी टोली नआउने

बुढासुब्बा गोल्डकपको आयोजक पत्रकार सम्मेलन गर्दै। तस्बिर /रोहित राई

धरान - २२ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

आयोजक धरान फुटबल क्लबले रंगशालामा बिहीबार अन्तिम पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। प्रतियोगिता फागुन १० गतेदेखि १७ गतेसम्म धरान १६ स्थित रंगशालामा आयोजना हुँदै छ। ‘गोल्डकपको तयारी सबै पूरा भइसकेको छ, सजावटको केही काम मात्र बाँकी हो,’ आयोजक क्लबका अध्यक्ष किशोर राईले भने,‘यसपालिको संस्करण हरेक हिसाबले उत्कृष्ट बनाउँछौं।

प्रतियोगितामा कुल ८ टोली सहभागी हुनेछ। यसअघि जापानको लिग टोली पनि सहभागी हुने बताइएको थियो। तर, कोरोना भाइरसको महामारीले गर्दा जापानको टोलीले नआउने अध्यक्ष राईले बताए। ‘हामीले ८ लाख जति त जापानको टोलीलाई खर्च गर्न लागेका थियौं, दुर्भाग्य भनौं कोरोनाको कारण जापानको टोली आउन नसक्ने भयो,’ अध्यक्ष राईले भने,‘जापानको ठाउँमा भारत कोलकाताको टोली आउनेछ।’ आयोजकका अनुसार प्रतियोगितामा लिग विजेता मच्छिन्द्र क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब प्रदेश १ लिग विजेता बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब सहभागी हुनेछ।

यस्तै, विदेशी टिममा युके एफसी भारत र कोललकाताको सन डे क्लब, एसबिसिसी सहभागी हुने आयोजक क्लबले जानकारी दिएको छ। ‘सहभागी टिमलाई पनि सुरक्षा, सुविधाको राम्रो व्यवस्था गरेका छौं, प्रत्येक टोलीमा हाम्रो केही अफिसियल नै खटाउँछौं,’ उनले भने। प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ। उत्कृष्ट खेलाडीलाई डियो स्कुटी एक थान दिइनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १५ हजार पाउनेछ। यसै गरी, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछन्।

आयोजकलाई खेलाडी पाउनै गाह्रो
विविध कारणले अहिले एकै समयमा नेपालमा थुप्रै गोल्डकप आयोजना भइरहेका छन्। त्यसैले क्लब र खेलाडी ती प्रतियोगिता खेल्नमा व्यस्त छन्। यसको असर आयोजकको टोली तयारीमा परेको छ। प्रतियोगिता सुरु हुन २ दिन बाँकी हुँदा बिहीबारसम्म पनि आयोजकको टोलीले पूर्णता पाएको थिएन। आयोजक गत वर्षको उपविजेता टोली हो। ‘खेलाडीहरू सबै कुनै न कुनै टोलीबाट खेलिरहेका छन्, त्यसैले टोली तयारी गर्न निक्कै गाह्रो भयो। शुक्रबारसम्म तयारी हुन्छ,’ अध्यक्ष राईले भने। आयोजकको टोलीमा ४ जना विदेशी खेलाडी रहने भने निश्चित भइसकेको छ। ती खेलाडीहरु २ जना अफ्रिकन, एक जना इजिप्ट र एक जना भारत नागाल्यान्डका हुनेछन्।

ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश
यसपाली गोल्डकपमा ज्येष्ठ नागरिकहरुलाई निःशुल्क हेर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। पुरुषतर्फ ७० वर्षमाथि र महिलातर्फ ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई प्रवेश शुल्क नलिइने अध्यक्ष राईले बताए। ‘नागरिकता लिएर आउनुभएको छ भने हामी ससम्मान स्टेजमा ल्याएर नाम उद्घोष पनि गछौं,’ अध्यक्ष राईले भने,‘फुटबलमा ज्येष्ठ नागरिकमा पनि आकर्षण बढाउन यस्तो गरिएको हो।

प्रकाशित: ९ फाल्गुन २०७६ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App