३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

दुई पुलिसबीच उपाधि भिडन्त

पर्वत - विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लब चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिड्ने भएका छन्।

१३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा बिहीबार सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई र एपिएफले होङग्वान्जी न्यु डायमन्डलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्। जलजला गाउँपालिका–३ स्थित कालीगण्डकीको तिरमा भएको पहिलो सेमिफाइनलमा होङग्वान्जी न्यु डायमन्डलाई सोझो सेटमा पराजित गर्दै एपिएफ उपाधि रक्षाको यात्रामा होमिएको हो।

एपिएफले पहिलो सेट २५–९ ले सहजै आफ्नो बनाउँदै न्यु डायमन्डविरुद्ध दबाब बनायो। दोस्रो सेटमा न्यु डायमन्डले पुनरागमन गर्ने प्रयास गरे पनि एपिएफले २५–१५ ले खेल आफ्नो बनाउँदै जितनजिक पुगेको थियो। एपिएफले तेस्रो सेट पनि २५–१८ ले आफ्नो बनाउँदै गत संस्करणको उपविजेता न्यु डायमन्डलाई सेमिफाइनलमा पाखा लगायो। साबिकको विजेतासमेत रहेको एपिएफ फाइनलमा स्थान बनाउँदै तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ। दोस्रो सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै नेपाल पुलिसले यस प्रतियोगितामा पहिलो पटक फाइनलमा स्थान बनायो।

निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा आर्मीले तीनै सेटमा लिएको अग्रता जोगाउन नसक्दा पहिलो पटक उपाधि यात्रामा होमिने अवसर गुमायो। बुधबारको लिग खेलमा एपिएफविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको आर्मीले पुलिससँग भने लय निरन्तरता दिन सकेन। पुलिससँगको सेमिफाइनलमा आर्मीको रिसिभसँगै सेटिङले बिर्सनलायक प्रदर्शन गर्‍यो। पुलिसले पहिलो सेट २५–१९ ले सहजै आफ्नो बनाउँदै आर्मीमाथि दबाब सिर्जना गरेको थियो। दोस्रो सेटमार्फत आर्मी खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन। आर्मीले २०–१७ को अग्रता जोगाउन सकेन र त्यससँगै पुलिसले दोस्रो सेट २५–२३ ले आफ्नो बनायो। निकै रोमाञ्चक बनेको तेस्रो सेटमा पनि आर्मीले २३–२१ को अग्रता जोगाउन सकेन। त्यसपछि आर्मीले २४–२३ को अग्रता पनि जोगाउन नसक्दा पुलिसले २६–२४ ले आफ्नो बनाउँदै एपिएफसँगको उपाधि भिडन्त पक्का गर्‍यो ।   

पुलिस र एपिएफ उपाधिका लागि शुक्रबार भिड्नेछन्। सेमिफाइनलमा पराजित आर्मी र न्यु डायमन्डले तेस्रो स्थानको लागि शुक्रबारै प्रतिस्पर्धा गर्नेछन्। बिहीबार नै लिगको अन्तिम खेलमा आयोजक दिदिबहिनी रेडियोद्वारा वाकओभर पाउँदै नेपाल पुलिस समूह ‘बी’ को समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको थियो।  प्रतियोगिताको विजेताले पाउने दुई लाख नगद पुरस्कार जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्लले प्रायोजन गरेका छन्।

दोस्रो हुने टोलीले एक लाख नगद प्राप्त गर्नेछ। तेस्रो स्थानको लागि प्रदान गरिने ५० हजार नगद पुरस्कार स्थानीय समाजसेवी राजन श्रेष्ठले प्रायोजन गरेका छन्। सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजककी अध्यक्ष कल्पना चापागाईंंले बताइन्। प्रतियोगिताका लागि करिब १५ लाख रुपैयाँ अनुमानित लागत लाग्ने आयोजककी अध्यक्ष चापागाईंंले बताइन्।

प्रकाशित: ९ फाल्गुन २०७६ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App