मस्कोमा सन् २०३० को विश्व भारोत्तोलन च्याम्पियनसिप आयोजना हुने भएको छ। सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता कुनै पनि खेल महासंघले रूसमा विश्वस्तरीय प्रतियोगिता आयोजना गर्न लागेको यो पहिलो पटक हो।
अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ (आइडब्लुएफ) ले मस्कोमा सन् २०३० को विश्व भारोत्तोलन च्याम्पियनसिप आयोजना गर्ने निर्णय आइतबार सार्वजनिक गर्यो। महासंघले चार महिनाअघि मात्रै आफ्ना प्रतियोगितामा रूसी खेलाडीलाई पुनः प्रतिस्पर्धा गर्न योग्य ठहर गरेको थियो। जुलाईमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले रूसी ओलम्पिक कमिटीमाथिको निलम्बन अस्थायी रूपमा फुकुवा गरेको थियो। युक्रेनमाथि रूसले आक्रमण गरेपछि उक्त निलम्बन गरियो। आइओसीको निर्णयले सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा रूसी खेलाडीलाई आफ्नै देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने बाटो खोल्न सक्ने सम्भावना देखिएको छ।
आइडब्लुएफले जुनियर, युथ र सिनियर तहका चारवटा विश्व च्याम्पियनसिपका आयोजक सहर घोषणा गरेको छ। सन् २०२९ को सिनियर विश्व च्याम्पियनसिप भने भारतको अहमदाबादमा आयोजना हुने भएको छ। ‘हामीले प्राप्त गरेका सबै प्रस्ताव उत्कृष्ट थिए। सम्बन्धित देशमा आयोजना हुने च्याम्पियनसिप सफल हुनेमा हामी विश्वस्त छौं,’ आइडब्लुएफका महासचिव जोसे क्विनोनेसले भने। युक्रेनमा युद्ध सुरु भएयता ग्रीष्मकालीन वा शीतकालीन ओलम्पिकका कुनै पनि खेलको विश्व च्याम्पियनसिप रूसमा आयोजना भएको छैन। सन् २०२५ को विश्व एक्वाटिक्स च्याम्पियनसिप सुरुमा रूसी सहर कजानमा आयोजना गर्ने तय भएको थियो। तर, पछि त्यसलाई सिंगापुरमा सारिएको थियो।
मस्कोमा यसअघि सन् १९८३ मा विश्व भारोत्तोलन च्याम्पियनसिप आयोजना भएको थियो। ‘धेरै वर्षपछि उच्चस्तरको आधिकारिक प्रतियोगिता आफ्नो देशमा फर्काउन सफल हुने पहिलो ओलम्पिक खेल महासंघ हामी बनेका छौं,’ रूसी भारोत्तोलन महासंघले भनेको छ। रुसी भारोत्तोलन महासंघका अध्यक्ष अलेक्जान्दर विनोकुरोभले टेलिग्राममा लेख्दै ‘विश्वास गरेकोमा’ आइडब्लुएफलाई धन्यवाद दिएका छन्। उक्त च्याम्पियनसिप सन् २०३२ मा अस्ट्रेलियाको ब्रिस्बेनमा हुने ओलम्पिक खेलकुदका लागि छनोट प्रतियोगितासमेत हुनेछ। ‘उच्चस्तरका प्रतियोगिता आयोजना गर्न रूससँग आवश्यक अनुभव र क्षमता छन्। मस्कोले यसअघि पनि पटकपटक ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिसकेको छ। हामीसँग आधुनिक पूर्वाधार उपलब्ध छन्,’ उनले भने।
जुलाईमा रूसमाथिको निलम्बन अस्थायी रूपमा फुकुवा गर्ने निर्णय सार्वजनिक गर्दा आइओसीले ओलम्पिक खेलकुदमा रूसले आफ्नो राष्ट्रिय झन्डा, राष्ट्रिय रङ र राष्ट्रिय गान प्रयोग गर्न पाउने वा नपाउने भन्नेबारे कुनै निर्णय नभएको जनाएको थियो। आइओसीले रूसमा आफ्ना प्रतियोगिता आयोजना नगर्ने तथा रूसी सरकार वा राज्यका अधिकारीलाई आफ्ना प्रतियोगितामा आमन्त्रण नगर्ने नीति भने निरन्तर कायम रहने बताएको थियो। सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजित ओलम्पिक खेलकुद तथा यस वर्ष इटालीको मिलानमा भएको शीतकालीन ओलम्पिकमा केही रूसी खेलाडीले तटस्थ खेलाडीका रूपमा प्रतिस्पर्धा गरेका थिए।
रूसी ओलम्पिक कमिटीमाथिको निलम्बन फुकुवा गर्ने आइओसीको निर्णय खारेज गर्न माग गर्दै युक्रेनले खेलकुदसम्बन्धी विवाद समाधान गर्ने निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस (सिएएस) मा अपिलसमेत दर्ता गरेको छ। आइओसीको पछिल्लो निर्णय आउनुअघि नै अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटीले रूसमाथि विश्व खेलकुद प्रतियोगितामा लगाइएको प्रतिबन्ध अन्त्य गरिसकेको थियो। त्यसपछि रूसी खेलाडीले शीतकालीन पारालिम्पिकमा आफ्नै राष्ट्रिय झन्डामुनि प्रतिस्पर्धा गर्न पाएका थिए। चीनको निङ्बोमा अक्टोबर २७ देखि नोभेम्बर ८ सम्म आयोजना हुने सन् २०२६ को आइडब्लुएफ विश्व भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने खेलाडीको सूचीमा युक्रेनका पाँच खेलाडी पनि समावेश छन्। एजेन्सी
प्रकाशित: १० कार्तिक २०८३ १२:३० मंगलबार


-600x400.jpg)


-600x400.jpg)