६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आर्मी र गण्डकीको विजयी सुरुआत

गण्डकी र प्रदेश ५ का खेलाडी बल आफ्नो पक्षमा लिन खोज्दै। तस्बिरः चुमन बस्नेत/नागरिक

विराटनगर - विराटनगरको सहिद रंगशालामा दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिता सुरु भएको छ। सोमबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्यापियन गण्डकी प्रदेश र विभागीय टोली नेपाल आर्मीले विजयी सुरुआत गरेका छन्।

नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगितामा नेपाल आर्मी र गण्डकी प्रदेश विजयी भए भने बागमती र सुदूरपश्चिमले बराबरी खेलका थिए। प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले प्रदेश १ लाई ८–० को फराकिलो गोलअन्तरमा पराजित गरेको हो। आर्मीका दीपेन्द्र ऐरले ३ र ४२औं  मिनेटमा गोल गरेका थिए। २०औं मिनेटमा शेरबहादुर रोकायाले गोल थपे। २७औं मिनेटमा प्रदीप राजवंशीले गोल गर्दा ३६ र ३७औं मिनेटमा रोमन राणाले गोल गरे भने ५७ र ५९औं मिनेटमा प्रदीप राजवंशी गोल गरेका थिए। खेलको म्यान अफ दी म्याच आर्मीका प्रदीप राजवंशी भए।

त्यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई १–० गोलले पराजित ग-यो। एक मात्र निर्णायक गोल खेलको ३९औं मिनेटमा पीताम्बर थापाले गरे। खेलको म्यान अफ दी म्याच गण्डकीका किसनबहादुर मगर भए। त्यसै गरी, तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशले १–१ गोल गर्दै अंक बाँडे। ४९औं मिनेटमा बागमतीका विनजन घिमिरे र ५९औं मिनेटमा सुदूरपश्चिमका अंकित महरले गोल गर्दै खेललाई बराबरी पारे। खेलको म्यान अफ दी म्याच सुदूरपश्चिमका केशवराज जोशी भए।

प्रतियोगिताको उद्घाटन नेपाल हक्की संघका केन्द्रीय अध्यक्ष उमेशलाल श्रेष्ठले गरेका थिए। प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको छ। विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका छन्। प्रतियोगिताको पहिलो संस्करण झापामा भएको थियो भने फाइनलमा नेपाल आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भएको थियो। उक्त संस्करणको उपाधि गण्डकीले जितेको थियो। प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो खेल प्रदेश ५ र  प्रदेश २, दोस्रो खेल प्रदेश १ र बाग्मती प्रदेश तथा तेस्रो खेल नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशबीच  हुनेछ।

प्रकाशित: २१ माघ २०७६ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App