१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफसँग आर्मी स्तब्ध

काठमाडौं – त्रिभुवन आर्मी क्लब १५औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा शुक्रबार सशस्त्र प्रहरी बलको एपिएफसँग स्तब्ध भएको छ।

नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबारको खेलमा आर्मी एपिएफसँग सोझो सेटमा स्तब्ध भएको हो। यसअघि पहिलो खेलमा सामाखुसी बोर्डिङ स्कुललाई स्तब्ध बनाउँदै विजयी सुरुआत गरेको आर्मीले एपिएफसँग भने आशाअनुरूप प्रदर्शन गर्न सकेन। यता, साबिकको विजेता एपिएफले लिगमा दोस्रो जित निकाल्यो। एपिएफले पहिलो खेलमा चुली युवा क्लबलाई हराएको थियो। एपिएफ आर्मीमाथि २५–२२, २५–२२ र २५–१७ को सहज जित निकाल्न सफल भयो।

साबिकको विजेता एपिएफले त्रिभुवन आर्मीलाई सोझो सेटमा स्तब्ध बनाउँदै लिगमा दोस्रो जित निकालेको छ।

जितसँगै एपिएफले दुई खेलबाट ६ अंक बटुल्दा आर्मीको तीन अंक छ। प्रतियोगिताको दोस्रो दिन शुक्रबार आयोजक ढोरपाटनले भने दोहोरो सफलता आत्मसात ग-यो। ढोरपाटनले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेब) र चुली युवा क्लबलाई पराजित गरेको थियो। पहिलो खेलमा सेबमाथि २५–१७, २५–२१ र २५–६ को सहज जित निकालेको ढोरपाटनले दोस्रो खेलमा भने चुली युवालाई २६–२४, २५–१९ र २५–२१ ले हरायो।

दोहोरो जितसँगै ढोरपाटनले लिगमा ६ अंक बटुलेको छ। चारै खेलमा पराजित चुली युवा अंकविहीन छ। होङ्ग्वान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब र बुलबुले रारा क्लबले पनि जित निकालेका छन्। न्यु डायमण्डले चुली युवा क्लबलाई २५–१२, २५–१७ र २५–६ ले हरायो। दुई खेलबाट न्यु डायमण्डको पनि ६ अंक पुगेको छ। न्यु डायमण्डले पहिलो दिन पारामाउन्डलाई हराएको थियो।

पुलिसले सेब स्कुललाई २५–११, २५–१४ र २५–११ ले पराजित गरेको छ। अर्को खेलमा बुलबुले रारा क्लबले पारामाउन्ट उच्च माविलाई २५–१२, २५–१६ र २५–१५ ले हरायो। बुलबुलेको पनि यो लगातार दोस्रो जित हो। शनिबार पाँच खेल हुने आयोजकले जनाएको छ।

प्रकाशित: १८ माघ २०७६ ०१:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App