२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

न्युजिल्याण्ड फेरी सुपर ओभरमै चुक्यो

विराट कोहली

विलिङ्टन – घरेलु टोली न्युजिल्यान्डविरुद्ध चौथो ट्वान्टी–२० क्रिकेटमा पनि भारतले शुक्रबार सुपर ओभर मार्फत रोमाञ्चक जित निकाल्दै शृंखला क्लीन स्वीप गर्ने लक्ष्य बनाएको छ।

सुपर ओभरमा दुई पटक जीवनदान पाएका टिम सेइफर्ट आउट भए पनि न्युजिल्यान्डले १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जबाफमा भारतका लोकेश राहुलले पहिलो र दोस्रो बलमा क्रमशः छक्का र चौका प्रहार गर्दै सहज जित निकाल्ने संकेत गरेका थिए। यद्यपि, टिम साउथीले तेस्रो बलमा राहुललाई बाउन्ड्री लाइनमा क्याच गराउँदै सुपर ओभरमा पनि थप रोमाञ्चक थपिदिए। त्यसपछि भारतको जितका लागि तीन बलमा चार रन आवश्यक हुँदा ब्याटिङ गर्न आएका कप्तान विराट कोहलीले चौथो बलमा दुई रन मात्र लिए।

तर, पाँचौं बलमा चौका हिर्काउँदै कोहलीले लगातार दुई खेलमा भारतलाई सुपर ओभरबाट नै सफलता दिलाए। यसअघि तेस्रो खेलमा पनि भारतले सुपर ओभरबाट जित निकालेको थियो। जितपछि कोहलीले दुई खेलमा अविश्वसनीय सफलता मिलेको बताए। ‘पछिल्ला दुई खेल अविश्वसनीय रह्यो,’कोहलीले भने,‘जब खेल आफ्नो पकडभन्दा बाहिर गइरहँदा पुनरागमन हुन्छ, त्यो क्षण निकै खुसी लाग्छ।’ यो जितसँगै भारतले पाँच खेलको ट्वान्टी–२० शृंखलामा ४–० को अग्रता बनाइसकेको छ।

न्युजिल्यान्डका पार्ट टाइम कप्तान टिम साउथीले निर्धारित २० ओभरभित्र नै खेल आफ्नो बनाउन नसक्दा दुःख लागेको बताए। ‘जब हामी निकै बलियो स्थितिमा थियौं, त्यतिबेला विपक्षीलाई खेलमा फर्किने वातावरण दियौं। जसको कारण हामी पराजित हुन पुग्यौं,’साउथीले भने।

१ सय ६६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड सात विकेट बाँकी छँदा अन्तिम ओभरमा ७ रन बनाउन असफल भएपछि खेल सुपर ओभरतर्फ धकेलिएको हो।

न्युजिल्यान्ड अन्तिम ओभरमा चार विकेट गुमाउँदा ६ रन मात्र बटुलेपछि सात विकेटको क्षतिमा १ सय ६५ रनमा रोकिएको थियो। नियमित कप्तान केन विलियम्सन तेस्रो खेलमा फिल्डिङ गर्ने क्रममा काँधमा चोट बोकेपछि न्युजिल्यान्ड साउथीको नेतृत्वमा उत्रिएको थियो। कोलिन मुनरो र सेइफर्टले न्युजिल्यान्डलाई जितको आधार तय गरे पनि सदुपयोग हुन सकेन। यो जोडीले तेस्रो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए। तेस्रो विकेटका रूपमा रनआउट हुनुअघि मुनरोले ६४ रन बनाए।

अन्तिम ओभरमा रनआउट नै भएका सेइफर्टले ५७ रनको योगदान दिए। न्युजिल्यान्ड पाँच ओभरको समाप्तीमा एक विकेट गुमाउँदा २३ रनको मध्यम स्थितिमा थियो। तर, मुनरोले छैटौं ओभरमा शार्दुल ठाकुरको बलमा एक छक्का र दुई चौका हिर्काउँदै आफ्नो टोलीको इनिङ उकासे। यद्यपि, अन्य खेलाडीले साथ नदिँदा न्युजिल्यान्ड जितनजिक पुगेर पनि हार बेहोर्न बाध्य भयो।

त्यसअघि ब्याटिङ गरेको भारतले खराब सुरुआतका बाबजुत ८ विकेटको क्षतिमा १ सय ६५ रनको योगफल तयार पारेको थियो। भारतका लागि मनीष पाण्डेले नटआउट ५० रनको योगदान दिए। मनीषले शार्दुल ठाकुर र नवदीप सैनीसँग महत्वपूर्ण साझेदारी गरे। १२औं ओभरमा भारत ६ विकेटको क्षतिमा ८८ रनको कमजोर स्थितिमा हुँदा मनीष र शार्दुलले ४३ रनको महत्वपूर्ण साझेदारी गरे। शार्दुल २० रनमा आउट भए। नवदीप ११ रनमा नटआउट रहँदा मनीषसँग २२ रनको साझेदारी गरे।  

१ सय ६६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड सात विकेट बाँकी छँदा अन्तिम ओभरमा ७ रन बनाउन असफल भएपछि खेल सुपर ओभरतर्फ धकेलिएको थियो।

प्रकाशित: १८ माघ २०७६ ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App