२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सुपर ओभरमा भारतको रोमाञ्चक विजय

ह्यामिल्टन – रोमाञ्चक सुपर ओभरको अन्तिम बलमा रोहित शर्माले सानदार छक्का प्रहार गर्दै तेस्रो ट्वान्टी–२० खेलमा जित निकाल्दा भारतले न्युजिल्यान्ड विरुद्धको पाँच ट्वान्टी–२० शृंखला दुई खेलअगावै जितेको छ।

सेडन पार्कस्थित ह्यामिल्टनमा सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले पाँच खेलको ट्वान्टी–२० शृंखला २ खेलअगावै आफ्नो पक्षमा पारेको हो। सुपर ओभरमा न्युजिल्यान्डले दिएको १८ रनको चुनौती पछ्याएको भारतले अन्तिम बलमा छक्का प्रहार गरेपछि भारतले दुई खेलअगावै शृंखला कब्जा गरेको हो।

सुपर ओभरमा भारतलाई अन्तिम २ बलमा १० रन आवश्यक हुँदा रोहितले लगातार दुई छक्का प्रहार गर्दै टिमलाई जित दिलाएका हुन्। सुपर ओभरअघि पाहुना टोली भारतले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रनमा सीमित भएपछि खेल सुपर ओभरमा पुगेको थियो।

जबाफी ब्याटिङ गर्ने क्रममा न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ९५ रनको उत्कृष्ट पारी खेले पनि टोलीको जितलाई पर्याप्त भएन। ४८ बलको सामना गरेका उनले ८ चौका र ६ छक्कासहित ९५ रन बनाए। ओपनिङ ब्याट्सम्यान मार्टिन गुप्टिलले ३१ र कोलिन मुनरोले १४ रन जोड्दा रोस टेलर्स १७ रनमा मोहम्मद सामीको बलमा बोल्ड भए। यस्तै न्युजिल्यान्डका अन्य ब्याट्सम्यानले दोहोर अंकको स्कोर गर्न सकेनन्।

सुपर ओभरमा भारतलाई अन्तिम २ बलमा १० रन आवश्यक हुँदा रोहितले लगातार दुई छक्का प्रहार गर्दै टिमलाई जित दिलाएका हुन्।

न्युजिल्यान्डलाई रोक्न भारतका शार्दूल ठाकुर र मोहम्मद सामीले समान २ विकेट हात पार्दा युजवेन्द्र चाहल र रवीन्द्र जडेजाले १-१ विकेट आफ्नो नाममा लेखाए। यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरको खेलमा ५  विकेट गुमाएर १ सय ७९ रनको योगफल बनाएको थियो। भारतका लागि रोहित शर्माले अर्धशतकीय इनिङ खेले। ४० बल खेलेका रोहितले ६ चौका ३ छक्काको मद्दतमा ६५ रन बनाए। कप्तान विराट कोहलीले ३८ रनको योगदान दिँदा केएल राहुलले २७ तथा श्रेयस ऐयरले १७ रन जोडे। मनीष पाण्डेले १४ रन बनाउँदा रवीन्द्र जडेजाले १०  तथा शिवम् दुवेले ३ रन बनाएका थिए। न्युजिल्यान्डका हामिस बेनेटले ३ तथा कालिन डी ग्रान्डहोम र मिचेल सान्टनरले समान १ विकेट लिए।

सिरिज ३–० ले कब्जा गरेको भारतले चौथो ट्वान्टी–२० खेल शुक्रबार खेल्नेछ। यसअघि भारतले पहिलो ट्वान्टी–२० खेलमा ६ तथा दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो। 

प्रकाशित: १६ माघ २०७६ ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App