२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

साबिक विजेताको सानदार जित

संकटाविरुद्ध गोल गरेपछि मनाङ खेलाडी । तस्बिर सौजन्य :एन्फा

काठमाडौ – नवौं चरणको खेलसम्म अपराजित यात्रालाई निरन्तरता दिएको साबिक च्याम्पियन मनाङ मर्स्याङ्दीले बुधबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबमाथि सानदार जित निकालको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा मनाङले संकटालाई ३–० ले पराजित गरेको हो। बुधबारको जितसँगै मनाङले नवौ खेलसम्म पनि अपराजित यात्रालाई निरन्तरता दिएको हो। तालिकाको आठौं स्थानमा रहेको संकटालाई हराउनका लागि मनाङका अञ्जन विष्ट र निशान लिम्बुले समान एक गोल गर्दा एक गोल उपहार पायो।

सुरुआतबाट नै संकटामाथि हाबी देखिएको मनाङले अग्रता उपहार गोलबाट लिएको थियो। सुरुआती ४० मिनेट निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ४२औं मिनेटमा संकटाका अमित तामाङको आत्मघाती गोलबाट मनाङले अग्रता पाएको थियो। यससँगै अमितले जारी लिगमा दोस्रो आत्मघाती गोल गरेका छन्। अग्रता लिएसँगै उच्च मनोबलमा देखिएको मनाङले लगत्तै अर्को गोल पनि थप्यो। अञ्जन विष्टले उपलब्ध पासलाई आकर्षक शैलीमा सदुपयोग गर्दै मनाङको अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफमा संकटाले खेलमा फर्किन गरेको प्रयास सफल हुन सकेन।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ४२औं मिनेटमा संकटाका अमित तामाङको आत्मघाती गोलबाट मनाङले अग्रता पाएको थियो। यससँगै अमितले जारी लिगमा दोस्रो आत्मघाती गोल गरेका छन्।

पहिलो हाफमा लिएको दुई गोलको अग्रतापछि उच्च प्रदर्शन गरेको मनाङले दोस्रो हाफमा पनि संकटामाथि दबाब राख्यो। ७१औं मिनेटमा निसान लिम्बुले पेनाल्टी बक्सनजिकै पाएको अवसरलाई सदुपयोग गर्दै जाली चुमाउन सफल भएका थिए।  यसअघि ५३औं मिनेटमा मनाङका विमल रानाले गरेको गोल अफसाइड भएको भन्दै रेफ्रीले मान्यता दिएनन्। खेलको सातौं  मिनेटमा अन्जन विष्टको प्रहार डिफ्लेक्ट भएपछि निशान लिम्बुको प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाएका थिए।

१५औं मिनेटमा मनाङका कमल श्रेष्ठले मासाउकेलाई फाउल गरेपछि प्राप्त फ्रिकिकमा संकटाका सुवास गुरुङको प्रहारलाई मनाङका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गरे। २०औं मिनेटमा मनाङका विमल रानाको प्रहारलाई संकटाका गोलकिपर विनय श्रेष्ठले बचाउन नसक्दा विष्णु सुनारले गोललाइननजिकबाट क्लियर गरेका थिए।

बुधबारको जितसँगै मनाङले जारी लिगमा पाँचाैँ जित तर्दा गरेको छ। संकटासँगको सानदार जितसँगै मनाङले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक बराबरी गरेको छ। समान गोलअन्तर र अंक भए पनि मच्छिन्द्र फेयर प्लेका आधारमा दोस्रो स्थानमा अटाउँदा मनाङ तेस्रो स्थानमा परेको हो। ९ खेलबाट १९ अंक जोडेको मनाङले दोस्रो स्थानको मछिन्द्र क्लबसँग अंक बराबरी गरेको हो। मनाङ शीर्ष स्थानको त्रिभुवन आर्मीभन्दा १ अंकले पछि छ। पराजित संकटाको समान ९ खेलबाट १२ अंक छ। संकटा आठौं स्थानमा छ।

लिगमा बिहीबार दुई खेल हुनेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतिस्पर्धाको पहिलो खेलमा फ्रेन्ड्स क्लबले च्यासल युथको सामना गर्नेछ। यस्तै दिनको दोस्रो खेल न्युरोड टिम (एनआरटी) र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीच दशरथ रंगशालामा नै हुनेछ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग
आजका खेल (दशरथ रंगशाला)
फ्रेन्ड्स क्लबविरुद्ध च्यासल युथ क्लब    १२ः०० बजे
न्युरोड टिम (एनआरटी)विरुद्ध ब्रिगेड ब्वाइज (बिबिसी)     १५ः०० बजे

प्रकाशित: १६ माघ २०७६ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App