धरान - सूर्य नेपाल गल्फ टुरअन्तर्गत इस्टर्न ओपन २०२० को उपाधि धरानका गल्फर बलभद्र राई (मणि) ले जितेका छन् ।
पार ७० को निर्वाणा गल्फ कोर्समा कुल ९ अन्डर २ सय १ स्कोर गर्दै बलभद्रले उपाधि जितेका हुन्। नेपालकै नम्बर वान गल्फर शिवराम श्रेष्ठ यसपालि बलभद्रसँग ४ स्ट्रोकले पछि परे। यो कोर्समा ९ अन्डरको उनको जित अहिलेसम्मकै उत्कृष्ट हो। यसअघि शिवरामले ७ अन्डर खेलेर उपाधि जितेको रेकर्ड थियो। घरेलु कोर्समा सविन सापकोटापछि उपाधि जित्ने उनी दोस्रो प्रोफेसनल खेलाडी हुन्। विजेता राईले उपाधि ट्रफीसँगै नगद १ लाख २५ हजार पनि हात पारे। प्रतियोगितामा कुल ५ अन्डर २ सय ५ स्कोर गर्दै शिवराम श्रेष्ठ दोस्रो भए। उनले अन्तिम दिन उत्कृष्ट ६ अन्डर ६४ को कार्ड बनाए। उनले दोस्रो पुरस्कार नगद ७५ हजार हात पारे । यस्तै, धरानका शुक्रबहादुर राई कुल १ ओभर २ सय ११ स्कोर गर्दै तेस्रो भए। शुक्रले तेस्रो पुरस्कार नगद ५५ हजार पाए।
कुल ४ ओभर १४ स्कोरका साथ धनबहादुर थापा चौथो भए। उनले नगद ४५ हजार पाए। यस्तै, समान कुल ६ ओभर २ सय १६ स्कोर गरेका शिवकुमार माझी र सूर्यप्रसाद शर्मा संयुक्त रूपमा पाँचाैँ स्थानमा रहे। दुवैले जनही ३५ हजार ५ सय बाँडे । कुल ७ ओभर २ सय १७ स्कोर गरेका दिनेश प्रजापतिले नगद ३१ हजार पाए भने समान ८ ओभर २ सय १८ स्कोर गर्दै संयुक्त आठौं स्थानमा रहेका जयराम श्रेष्ठ र रवि खड्काले जनही २८ हजार थापे। यसै गरी, समान १० ओभर २ सय १० स्कोर गरेर संयुक्त १०औं स्थानमा रहेका सञ्जय लामा र दीपक मगरले जनही २४ हजार २ सय ५० रुपैया पाए।
प्रतियोगितामा एमेच्योरतर्फ कुल ४ अन्डर २०६ स्कोर गरेका निरज तामाङ विजेता बन्दा शुक्रराज राई दोस्रो भए। विजेता खेलाडीलाई सूर्य नेपालका मार्केटिङ मेनेजर बालकिसन गुरुङ, नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका धरानका मेयर तिलक राईलगायतले पुरस्कार वितरण गरेका थिए।
प्रकाशित: १० माघ २०७६ ०१:१५ शुक्रबार