१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

मोरङको विजय सुरुआत

धनकुटा – सहिद रामकृष्ण श्रेष्ठ प्रदेश–१ स्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मोरङ विजयी भएको छ।

शुक्रबार धनकुटाको सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न खेलमा धरान महिला फुटबल टिमलाई ४–२ गोलले पराजित गर्दै मोरङले विजयी सुरुआत गरेको हो। पहिलो जितबाटै मोरङ प्रतियोगिताको सेमिफाइनलमा पुग्यो। मोरङको जितमा सावित्री मगरले दुई गोल गर्दा इमा राई र जमुना मगरले एक/एक गोल गरेका थिए। धरानका लागि पवित्रा राई र समिक्षा मगरले एक÷एक गोल फर्काए।

खेलमा सुरुआतदेखि नै मोरङले धरानमाथि दबाब सिर्जना गरेको थियो। लगातार दबाब बनाएको मोरङले पहिलो हाफमै धरानमाथि तीन गोल गर्न सफल भयो। यता, पहिलो हाफमा धरानले पेनाल्टी अवसर सदुपयोग गर्न सकेन। सुनिता राईले प्रहार गरेको बल पोस्ट बाहिर जाँदा धरानले अग्रता छोट्याउने मौका गुमाउनपुग्यो। उद्घाटन खेलमा वुमन अफ दी म्यान मोरङकी सावित्री मगर भइन्। सावित्रीले नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन्।

सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रदेशस्तरीय फुटबल प्रतियोगितामा प्रदेश–१ का विभिन्न जिल्लाका ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा विशेष सहयोगीको रूपमा धनकुटा नगरपालिकासहित जिल्लाका अन्य स्थानीय तहले साथ दिँदा प्राविधिक सहयोग धनकुटा जिल्ला फुटबल संघले गरेको छ।

प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल हुनेछन्।
पहिलो खेलमा धनकुटा फुटवल संघ र ईलाम–११ बीच तथा दोस्रो खेल झापाको कन्काई नगरपालिका महिला टिम र पाँचथर जिल्ला फुटवल संघबीच हुनेछ। प्रतियोगिताको उद्घाटन संघीय सांसद राजेन्द्र राईले गरेका थिए। विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफि पाउनेछ।

प्रकाशित: ४ माघ २०७६ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App