६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एन्फामा आबद्ध नभएका जिल्ला पनि सहभागी

पोखरा - एक सातापछि लेखनाथको भण्डारढिकस्थित रंगशालामा मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता आयोजनाको तयारी हुँदै छ। लिग फुटबलमा ११ जिल्लाका टोली सहभागी गराउने तय भएको छ।

गण्डकी प्रदेशमा ११ जिल्ला छन्। ११ जिल्लामध्ये पर्वत, म्याग्दी र मुस्ताङ अखिल नेपाल फुटबल संघ(एन्फा)मा आबद्ध छैनन्। बागलुङले जिल्लास्तरीय लिग कम नकाउट फुटबल प्रतियोगिता आयोजना गरेको थिएन। आबद्ध नभएका पर्वत, म्याग्दी र मुस्ताङ तथा जिल्ला लिग सञ्चालन नगरेको बागलुङलाई पनि पोखरामा आयोजना हुने मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितामा समावेश गरिएको छ।

आबद्ध  नभएको र कारबाहीमा परेको जिल्लालाई गण्डकी प्रदेश मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयले सहभागी गराउन एन्फालाई परिपत्र गरेको थियो। परिपत्रअनुसार मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयको आग्रहलाई स्विकार्दै एन्फाले मुख्यमन्त्री कप लिग फुटबलमा ती जिल्लालाई सहभागी गराउन आयोजक कमिटीलाई निर्देशन दिएको छ। अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले एन्फामा आबद्ध नभएका जिल्लालाई मुख्यमन्त्री कपमा सहभागी गराउन दिने प्रावधान रहेको उल्लेख गरे।

‘आबद्ध नभए पनि मुख्यमन्त्री कप खेल्न दिने नीति छ,’ उनले भने, ‘तर अन्य एन्फाका प्रतियोगितामा भने सहभागी हुन पाउँदैनन्।’ एन्फामा आबद्ध नभएका जिल्लाले एन्फाको विधिविधान र नीतिलाई पालना गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री कप लिगको हदमा मात्र आबद्ध नभएका जिल्लालाई सहभागी गराउन सकिने स्पष्ट पारे। प्रतियोगिता माघ ५ देखि १३ गतेसम्म पोखराको लेखानथस्थित भण्डारढिक खेलमैदानमा तय गरिएको छ। लिग फुटबल गण्डकी प्रदेश फुटबल संघ र कास्की जिल्ला फुटबल संघले संयोजन गर्नेछन्।

एन्फाका उपाध्यक्ष कृष्ण थापाको संयोजकत्वमा गठित गण्डकी प्रदेश लिग सञ्चालन कमिटीले आयोजना गर्ने उनले बताए। ‘लिग सञ्चालन कमिटी बनाइएको छ। त्यसले नै आयोजना गर्नेछ। प्रदेश र जिल्ला संघले संयोजन गर्नेछन्,’ उनले भने। थापाको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरिएको छ। आबद्ध नभएका जिल्लालाई मुख्यमन्त्री कप लिगमा सहभागी गराउनु एन्फाको आफ्नो विधि विधानविपरीत भएको फुटबलकर्मी बताउँछन्। ‘आबद्ध जिल्लालाई एन्फाको नीति नियम मान्नुपर्ने र त्यही कार्यविधिअनुसार काम गर्नुपर्ने प्रावधान छ,’ एन्फाकै पदाधिकारी भन्छन्, ‘तर एन्फामा आबद्ध नभएका जिल्लालाई मुख्यमन्त्री कपमा खेलाउँदा भोलि यसले झनै समस्या निम्त्याउनेछ।’

कास्की जिल्ला फुटबल संघका महासचिव एवं गण्डकी प्रदेश फुटबल संघ (तदर्थ समिति)का सचिव रमेश कार्कीका अनुसार केन्द्रीय समितिले स्वीकृति दिएपछि र लिग सञ्चालन कमिटीले निर्णय गरेपछि चार जिल्लाको सहभागिता निश्चित भएको स्पष्ट पारे। ‘जिल्ला र प्रदेश फुटबल संघको भूमिका खासै मुख्यमन्त्री कपमा देखिँदैन। यद्यपि संयोजन भने गर्नेछौं,’ उनले भने। लिग सञ्चालन कमिटीले मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताबारे केही दिनअघि मात्र पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो। प्रतियोगिताबारे कास्की जिल्ला फुटबल संघ र गण्डकी प्रदेश फुटबल संघका केही सीमित पदाधिकारीबाहेक अन्यलाई जानकारी नभएको बताउँदै आएका छन्।  

देश संघीय व्यवस्थामा गएपछि एन्फाको नयाँ कार्यविधि अनुसार प्रदेशस्तरीय फुटबल प्रतियोगिता गण्डकी प्रदेशमा पहिलोपटक आयोजना गरिँदै छ।  लिग कम नक आउटका आधारमा सञ्चालन हुने मुख्यमन्त्री कपमा जिल्ला लिग विजेता टिम स्याङ्जाबाट होराइजन क्लब, तनहुँबाट भिमाद युथ क्लब, लमजुङबाट त्रिवेणी युवा क्लब, गोरखाबाट बौद्ध हिमाल क्लब, कास्कीबाट आदर्श क्लब, नवलपुरबाट गैंडाकोट खेलकुद, मनाङबाट डाँफे युवा क्लबले सहभागिता जनाउने लिग सञ्चालन कमिटीले जनाएको छ। प्रतियोगितामा विजेता टोलीले नगद पाँच लाख र उपविजेताले तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।  

प्रतियोगितामा सहभागी टोलीलाई टिम तयारीस्वरूप नगद ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट गोलकिपर, बेस्ट मिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही पाँच हजार रुपैयाँ पुरस्कारस्वरूप प्रदान गरिनेछ। प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले ४० लाख रुपैयाँ सहयोग गर्नेछ।  

एन्फामा आबद्ध नभएका जिल्लालाई गण्डकी प्रदेश मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयले प्रतियोगितामा सहभागी गराउन एन्फालाई परिपत्र गरेको थियो। एन्फाले आग्रह स्विकार्दै ती जिल्लालाई सहभागी गराउन निर्देशन दिएको छ।

प्रकाशित: १ माघ २०७६ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App