१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

अवसर गुमाउँदा मनाङ तेस्रोमै


काठमाडौं -  अन्तिम १८ मिनेट १० खेलाडीमा सीमित भएको साबिक च्याम्पियन मनाङ मर्स्याङ्दी विरुद्ध पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा हिमालयन शेर्पाले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार गोलरहित बराबरी खेलेको छ । बराबरीसँगै मनाङले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

६ खेलबाट १२ अंक जोडेको मनाङ तेस्रो स्थानमा अटाएको छ। शनिबारै भएको दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई पराजित गरेको मच्छिन्द्र क्लब शीर्ष स्थानमा उक्लिएको छ। यस्तै एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब समान १२ अंकका साथ दोस्रो स्थानमा छ। बराबरीसँगै हिमालयन शेर्पा पनि एक स्थान माथि उक्लिएको छ। तर छैटौं चरणको खेल सकिँदासम्म हिमालयन जितविहीन छ। चार अंक जोडेको हिमालयन शेर्पा ११औं स्थानमा उक्लिएको हो। हिमालयन शेर्पाले समान चार अंक रहेको सशस्त्र प्रहरी बल (एपिएफ) लाई गोलअन्तरमा पछि पार्दै स्थान सुधार गरेको हो। तर एपिएफले एक खेल कम खेलेको छ।

उपाधि होडमा रहेको मनाङका रक्षक सुरज विश्वकर्मा ७२औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए। स्टेफन समिर डिउबेनीलाई फाउल गरेपछि सुरजले रातो कार्ड पाएका थिए। मनाङका जीवन गुरुङ, विमला राना, फेमी जोशुवा, भिडाल लुइस चिसानोले गोलका राम्रा अवसर खेर फाले भने हिमालयन शेर्पाका विनोद गुरु, सुरज हमाल, स्टेफन समिर डिउबेनी ‘वान भर्सेस वान’मा गोल गर्न सकेनन्। १० खेलाडीमा सीमित भए पनि अन्तिमतिर आक्रामक देखिएको मनाङ पनि गोलका राम्रा अवसरलाई सुदपयोग गर्न असफल भएको थियो।

उपाधि होडमा रहेको मनाङका रक्षक सुरज विश्वकर्मा ७२औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए ।

प्रकाशित: २७ पुस २०७६ ०१:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App