२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

पोखरामा मलेसियासँग प्रतिस्पर्धा हुने

पोखरा रंगशालाभित्रको क्रिकेट मैदान

पोखरा - पोखराका क्रिकेटप्रेमी दर्शकले अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा हेर्ने अवसर पाउँदै छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा नेपाल र मलेसियाको क्रिकेट टोलीबीचको प्रतिस्पर्धा हेर्ने अवसर जुरेको छ।


 नेपालसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्न मलेसियन टोली आगामी माघ ५ गते पोखरा आइपुग्नेछ। पोखराको मैदानमा माघ ६ गते सोमबार घरेलु टोलीसँग तीन एकदिवसीय खेलमध्ये पहिलो खेल खेल्नेछ। मलेसियाको टोली इटहरीमा आयोजित मनमोहन स्मृति एकदिवसीय क्रिकेट खेल्न केही दिनमै आइपुग्नेछ। इटहरीमा एकदिवसीय क्रिकेट प्रतियोगिता आगामी माघ ४ गते शनिबार टुंगिनेछ।

आइतबार इटहरीबाट प्रस्थान गर्दै मलेसियन टोली पोखरा आइपुग्नेछ। ‘माघ ६ गते (जनवरी २० तारिख) मा पोखराको मैदानमा वान डे म्याच हुने कार्यक्रम तय भएको छ,’ नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतमले भने,‘ तीन एकदिवसीय म्याच खेलेपछि मलेसियन टोली स्वदेश फर्किनेछ।’ उनका अनुसार मलेसियासँगको सबै खेल पोखरामै खेलिनेछ। पोखरा रंगशालाभित्र क्रिकेट मैदानबाहेक अन्य पूर्वाधार केही छैन।

अन्तर्राष्ट्रिय एकदिवसीय खेलको लागि अन्तर्राष्ट्रियस्तरकै पूर्वाधार चाहिन्छ। तर त्यो पूर्वाधार पोखरामा  उपलब्ध छैन। केही दिनअघि मात्रै पोखरामा फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरेर टुंग्याइएको छ। फ्रेन्चाइज लिगमा समेत मैदानबाहेक अन्य पूर्वाधार अस्थायी रूपमा टेन्ट राखेर बनाइएको थियो। एकदिवसीय खेल खेल्ने नेपाली टोली पूर्वतयारीका लागि शुक्रबार पोखरा आउनेछ। शुक्रबार आइपुग्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीले २५ दिन पोखरामा बन्द प्रशिक्षण गर्नेछ।

त्यसपछि नेपाली राष्ट्रिय टोलीले काठमाडौंको त्रिभुवन विश्वविद्यालयको मैदानमा त्रिदेशीय सिरिज खेल्नेछ। सिरिजका लागि टिम व्यवस्थापकको जिम्मेवारी पनि गौतमलाई नै तोकिएको छ। कास्की जिल्ला क्रिकेट संघले पोखराको मैदान मात्रै रहेको उल्लेख गर्दै अन्य पूर्वाधार केही पनि नभएको गुनासो गरेको छ। ‘पोखरामा मैदान छ तर अन्य पूर्वाधार केही पनि छैन। पूर्वाधारको लागि नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय सबैसँग आग्रह गर्दै आएका छौं,’ संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने, ‘सबै अस्थायी रूपमा बनाउन खर्चिलो हुन्छ। अब स्थायी संरचना नै बनाउनुपर्छ।’

मैदान तयारी छ। पिच मर्मत गर्नुपर्ने र आउटफिल्डको लेभलिङ गर्नुपर्छ। खेलाडीलाई अत्यावश्यक चेन्जिङ रुम, प्लेयर बक्सलगायतका पूर्वाधार बनाउनुपर्ने आवश्यक छ। पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय ‘न्युट्रल भेन्यु’ बनाउन सकिने चर्चा चलेको वर्षौं बितिसक्यो। तर ठोस पूर्वाधार तयार गर्नेतर्फ राष्ट्रिय खेलकुद परिषद् र क्यान चुकिरहेका छन्। पूर्वाधारका लागि गुरुयोजनासहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत बनाइसकिएको छ।

मन्त्रालयले पोखरा क्रिकेट मैदानका लागि ३ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ। गण्डकी प्रदेश सरकारले १ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता गरिसकेको छ। बजेट निकासा गरी मैदान संरक्षण गर्न तारजाली (फेन्सिङ) लगाई नाला निर्माण गर्ने र दक्षिणतर्फ चेन्जिङ रुम तथा शौचालयसहितको व्यवस्थित पवेलियन निर्माण गर्ने योजना छ। योजना कार्यान्वयनका लागि कास्की जिल्ला क्रिकेट संघले बजेट निकासा गर्नुपर्ने आवाज उठाउँदै आएको छ। पूर्वाधारबिना नै गत मंसिर १५ गतेदेखि २४ गतेसम्म आयोजित १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो।

 

प्रकाशित: २३ पुस २०७६ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App