लन्डन – युवा मिडफिल्डर क्रुटिस जोन्सको निर्णायक गोलमा एभर्टनमाथि १–० को जित हात पार्दै लिभरपुल आइतबार एफए कपको अघिल्लो चरण प्रवेश गरेको छ। घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुल एकेडेमीका खेलाडीले एभर्टनलाई मर्सीसाइड डर्बीमा हारको स्वाद चखाएका हुन्। सिनियर टोलीबाट मात्र ५ खेल खेलेका १८ वर्षे जोन्सले ७१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
उनले सिनियर टोलीका लागि गरेको यो नै पहिलो गोल हो। मर्सीसाइड डर्बीमा गोल गर्ने जोन्स कान्छो खेलाडीसमेत बनेका छन्। यसअघि १९९४ मा रोबी फाउलरले गोल गरेका थिए। ‘युवा खेलाडीले बहादुरी प्रदर्शन गरे। सबैले अविश्वसनीय प्रदर्शन गरे,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, ‘म धेरै खुसी छु, टोलीले गरेको सनसनीपूर्ण प्रदर्शन र सनसनीपूर्ण गोलमा। योभन्दा बढी के चाहियो ?’
२०१० पछि चिर प्रतिद्वन्द्वी लिभरपुलमाथि कुनै पनि जित हात पार्न नसकेको एभर्टनले यस सिजन प्रिमियर लिगमा ५–२ को नतिजा सुम्पिएको थियो। एन्फिल्डमा लिभरपुलको कम अनुभवी टोलीसँगको हार एभर्टनका लागि थप पीडादायी बन्यो। टोलीमा ९ खेलाडी परिवर्तन गरेका क्लोपले निको विलियम्स, हार्भे इलियोट र जोन्सलाई टोलीमा समावेश गरेका थिए।
यता १९९९ पछि एन्फिल्डमा आफ्नो पहिलो जितको खोजीमा रहेको एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने मात्र २ खेलाडी परिवर्तन गरेका थिए। खेलको १०औं मिनेटमा जेम्स मिल्नर घाइते हुँदै मैदान छाडेपछि यासिर लरौची मैदान प्रवेश गरेका थिए।
गोलकिपर एड्रियानले डोमिनिक काल्भर्ट लेविनका साथै मासोन होल्गेट र रिचार्लिसनको प्रहार रोक्दा लिभरपुलको संकट टारेका थिए। डिसेम्बरमा सिनियर टोली क्लब वल्र्ड कपका लागि दोहामा पुग्दा लिभरपुल युवा खेलाडीका साथ इङ्लिस लिग कपमा एस्टन भिल्लाविरुद्ध मैदान उत्रिएको थियो। जहाँ टोलीले क्वार्टरफाइनलमा लज्जास्पद हार व्यहोरेको थियो।
त्यस्तै चेल्सीले नटिङ्घम फरेस्टलाई २–० ले हराउँदै चौथो चरणमा प्रंवेश ग¥यो। खेलको छैटौं मिनेटमा कालुम हडसन–ओडियोले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो। ३३औं मिनेटमा रस बार्कलीले बललाई जाली चुमाउँदै चेल्सीको अग्रता दोब्बर पारेका थिए।
यता जोजे माउरिन्होको टोली टोटेनह्याम भने मिडल्सब्रोसँग १–१ को बराबरीमा रोकिएपछि रिप्ले खेल्न बाध्य भएको छ। ५०औं मिनेटमा एस्ट्ले फ्लिचरले मिडल्सब्रोलाई खेलमा अघि बढाएका थिए। त्यसको ११ मिनेटपछि लुकास मौराले टोटेनह्यामलाई खेलमा फर्काएका थिए।
सिनियर टोलीबाट मात्र ५ खेल खेलेका १८ वर्षे जोन्सले ७१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। उनले सिनियर टोलीका लागि गरेको यो नै पहिलो गोल हो। मर्सीसाइड डर्बीमा गोल गर्ने जोन्स कान्छो खेलाडीसमेत बनेका छन्।
प्रकाशित: २२ पुस २०७६ ०१:२४ मंगलबार