लिभरपुल – इङ्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलले घरेलु मैदानमा सेफिल्ड युनाइटेडलाई २–० ले स्तब्ध बनाउँदा जारी लिगमा अपराजित यात्रा कायमै राखेको छ। यस जितसँगै लिभरपुलले उपाधि यात्रालाई थप मजबुत बनाएको छ।
बिहीबारको जितसँगै लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीसँगको दूरी १३ अंकले बढाएको छ। घरेलु मैदान एनफिल्डमा लिभरपुललाई स्पष्ट तीन अंक दिलाउन मोहम्मद सलाह र सेनेगलका विंगर साडियो मानेले एक/एक गोल गरे। लिभरपुलले लिगमा २० खेलमध्ये १९ जित निकाल्दा एक बराबरी खेल्दै अंक बाँडेको थियो।
गत सिजन जनवरी २०१९ मा म्यानचेस्टर सिटीसँग पराजित भएयता लिभरपुल लिगको ३७ खेलमा अपराजित छ। यससँगै लिभरपुलले उपाधि यात्रालाई थप बलियो बनाएको छ। यस अघि सन् १९९० मा उपाधि जितेको लिभरपुल उपाधिनजिक पुगेको हो। सलाहले चौथो मिनेटमा नै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। रोर्बटसनले दिएको पासलाई स्ट्राइकर सलाहले सदुपयोग गर्दै टोलीको खाता खोलेका थिए।
भ्रमणकारी टोलीलाई निरन्तर दबाबमा राखेको लिभरपुलले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेन्। ६४औं मिनेटमा साडियो मानेले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि सेफिल्ड खेलमा फर्किन संघर्ष गरे पनि सफल हुन सकेन। जितसँगै १३ अंकको अग्रतासहित लिभरपुल शीर्ष स्थानमा यथावत् रहँदा पराजित सेफिल्ड भने २१ खेलबाट २९ अंकका साथ लिगतालिकाको आठौं स्थानमा छ।
२० खेलबाट लिभरपुलको ५८ अंक छ भने एक खेल बढि खेलेको लेस्टर ४५ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। समान २१ खेलबाट डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी ४४ अंकसहित तेस्रो, चेल्सी ३६ अंकबाट चौथो र म्यानचेस्टर युनाइटेड ३१ अंकसहित लिग तालिकाको पाँचौं स्थानमा छ।
प्रकाशित: १९ पुस २०७६ ०२:४० शनिबार