१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल ताजिकिस्तानसँग पराजित

काठमाडौं – एएफसी फुटसल च्याम्पियनसिप छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० ले पराजित भएको छ।

बुधबार इरानमा भएको छनोट खेलमा नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा अर्को ३ गोल खान पुगेको थियो। ६–० ले पराजित हुँदा नेपालले एक गोल पनि फर्काउन सकेन।

सुरुआती समयदेखि निकै नै दबाबमा देखिएको नेपालले पहिलो हाफमा तजिकिस्तानको पोस्टमा एक मात्र प्रहार गरेको थियो। तजिकिस्तानका खेलाडीले बारम्बार नेपालको पोस्टमा आक्रमण गरिरहँदा गोलरक्षक सुमितकुमार आले निकै व्यस्त रहे। उनले केही उत्कृष्ट बचाउ गर्दै विपक्षीका राम्रा प्रहार विफल पारे पनि हारलाई टार्न सकेनन्।

दोस्रो हाफ सुरु भएको चार मिनेट नबित्दै ताजिकिस्तानका खेलाडीले थप तीन गोल गर्न सफल भएको थियो। दोस्रो हाफको पहिलो मिनेटमा नै ताजिकिस्तानले गोल गर्दै नेपालमाथि ४–० को अग्रता बनाएको थियो।  त्यसपछि चौथो मिनेटमा दुई गोल गर्दै अग्रता फराकिलो पारेको थियो। पहिलो हाफभन्दा दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको नेपालले कुनै पनि अवसर निकाल्न सकेन। सहायक प्रशिक्षक गौरभ बस्नेतले नेपाली खेलाडीको प्रदर्शनमा आफू खुसी भएको प्रतिक्रिया दिए।

‘हामीले अन्तर्राष्ट्रिय फुटसल खेल्न थालेको दुई वर्ष मात्र भएको छ। पछिल्लो नतिजासँग यो नतिजालाई हेर्ने हो भने नतिजामा सुधार आएको मान्नुपर्छ,’ सहायक प्रशिक्षक बस्नेतले भने, ‘ताजिकिस्तानसँग हामीले धेरै सिक्ने मौका पायौं। यस खेलमा सिकेका कुरा अर्काे खेलमा प्रयोग गर्नेछौं।’ त्यस्तै ताजिकिस्तानका प्रशिक्षक डिजान डेडोभिकले पनि नेपाली टोलीको प्रदर्शन राम्रो रहेको बताए।

‘सुरुआती समयमा नेपालको डिफेन्स उत्कृष्ट थियो। तर पहिलो हाफको अन्त्यतिर नेपालको डिफेन्स कमजोर हँुदा हामीले फाइदा लियौं,’ ताजिकिस्तानका प्रशिक्षक डेडोभिकले भने।

सेन्टर तथा दक्षिण एसियाली छनोटको समूह ‘ए’ मा रहेको ताजिकिस्तानले ३ अंक जोडेको छ। यता खराब सुरुआत गरेको नेपालले आफ्नो दोस्रो खेल बिहीबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ७ कार्तिक २०७६ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App