काठमाडौं – पुस २ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने कर्पोरेट सुपर सिक्स सिजन ६ का लागि एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनी र माछापुच्छ्रे बैंकबीच मंगलबार सम्झौता भएको छ।
राजधानीमा मंगलबार भएको एक कार्यक्रममा एसएस इभेन्ट म्यानेजमेन्टसँग मुख्य प्रायोजनमा सम्झौता भएको हो। सम्झौतापछि अब ‘माछापुच्छ्रे कर्पोरेट सुपर सिक्स सिजन ६’ प्रतियोगिता हुनेछ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमन सिवाकोटीबीच सम्झौता भएको हो।
सम्झौतापछि आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माछापुच्छ्रे बैंक क्रिकेटमा आबद्ध हुन पाएकोमा खुसी लागेको बताए।
‘बैंकिङ मात्रै नभएर खेलकुदलगायत थुप्रै सामाजिक सेवामा पनि बैंक लगिरहेको छ,’ प्रमुख कार्यकारी अधिकृत शर्माले भने, ‘प्रतियोगितालाई कर्पाेरेट क्षेत्रमा मात्रै नभएर देशकै क्रिकेट उत्सवका रूपमा मनाउने तयारी गरेका छौं।’
पाँचदिने प्रतियोगिता कीर्तिपुरको क्रिकेट मैदानमा हुने आयोजकले जानकारी दियो। प्रतियोगिता सञ्चालनका लागि नेपाल क्रिकेट संघ क्यानको प्राविधिक सहयोग हुने समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो।
प्रतियोगितामा २४ कर्पाेरेट टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहको शीर्ष २ टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। खेल ५ ओभरको हुनेछ। प्रतियोगितामा भाग लिनका लागि टोली दर्ता शुल्क ७० हजार रुपैयाँ राखिएको छ।
प्रकाशित: ६ कार्तिक २०७६ ०४:१९ बुधबार