लन्डन (एएफपी) – इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले युनाइटेड क्लब शतप्रतिशत संरचनामा रहेको र टोलीलाई अझै मजबुत बनाउनका लागि पैसा पनि पर्याप्त रहेको बताएका छन्।
जारी लिगमा १२ औं स्थानमा रहेको युनाइटेड रेलिगेसन क्षेत्रभन्दा २ अंकले माथि छ। यस्तै शीर्ष स्थानको लिभरपुलभन्दा १५ अंकले पछि छ। युनाइटेडले लिभरपुललाई आइतबार आतिथ्य गर्दै छ।
पछिल्लो समय लिगमा गरेको प्रदर्शनमा क्लबका पदाधिकारी आलोचित हुँदा प्रशिक्षक गनरले बचाउ गर्दै आएका छन्। क्लबका पदाधिकारीलाई गरेको आलोचना प्रशिक्षक गनरले अपमानको संज्ञा दिएका छन्। पदाधिकारीले क्लबको भविष्यलाई मध्यनजर गर्दै काम गरिरहेको प्रतिक्रिया दिएका छन्।
‘तीनवर्षे सम्झौता गर्दै क्लबमा अनुबन्ध भएको छु। मसँग दीर्घकालीन योजना छ। टोलीलाई मजबुत बनाउँदै अगाडि बढाउने योजना बुनिरहेको छु,’ प्रशिक्षक सोल्सजायरले भने, ‘लिग अहिले सुरुआती चरणमा छ। खेलाडीमा आपसी तालमेल स्थापित हुँदै छ। एक वा दुई खेलबाट नै टोलीको प्रदर्शनलाई नियाल्नु हुँदैन। दीर्घकालीन सोच बनाएर अगाडि बढ्नुपर्छ।’
‘म शतप्रतिशत निश्चिन्त छु। हाम्रो टोलीको संरचना अहिले एकदमै राम्रो छ,’ प्रशिक्षक सोल्सजायरले थपे, ‘समर्थकबाट आलोचित भइरहेका छौं। क्लबका पदाधिकारीलाई आलोचना गर्नु यति बेला ठीक होइन।’
युनाइटेडले नयाँ सिजनका लागि १ सय ४५ मिलियन पाउन्ड खर्च गरेको थियो। यतिका खर्च गर्दा युनाइटेडले ह्यारी माग्युरी, आरोन वान–विसाका र ड्यानियल जेम्सलाई अनुबन्ध गरेको थियो। तर पनि प्रशिक्षक सोल्सजायरले खेलाडी अनुबन्धका लागि अझै रकम रहेको बताए।
‘नयाँ खेलाडी अनुबन्धका लागि हामीसँग रकम छ। म अनुबन्धनका लागि खेलाडी खोजिरहेको छु,’ प्रशिक्षक सोल्सजायरले थपे, ‘दुई खेलाडीका लागि सोचविचार गरिरहेका छौं तर खेलाडीको टुङ्गो लाग्न बाँकी छ।’
प्रकाशित: १ कार्तिक २०७६ ०२:१७ शुक्रबार