बार्सिलोना – क्याटलान स्वतन्त्रता अभियानका ९ नेतालाई सुनाएको जेल सजायविरुद्ध क्याटलान फुटबल संघले सोमबारबाट सम्पूर्ण फुटबल गतिविधिमा तत्कालका लागि रोक लगाएको छ ।
स्पेनको सर्वोच्च अदाततले २०१७ को क्याटलान स्वतन्त्रताको जनमत संग्रह गराएको भन्दै उनीहरूमाथि सजाय सुनाएको हो । संघले पक्राउ परेका नेताको समर्थनका लागि सबै फुटबलका खेल र फुटसलका खेलहरूमा रोक लगाएको हो । स्पेनिस राष्ट्रिय फुटबल टोली र ला लिगाका खेलमा भने यो लागू गरिने छैन । करिब ४ महिनाको सुनुवाईपछि सर्वोच्चले यो सजाय सुनाएको हो ।
बार्सिलोनाले वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जेल सजाय सुनाउनु दुर्भाग्यपूर्ण भएको बताएको छ । ‘अहिले क्लब वार्ताबाटै समस्या समाधानको पक्षमा छ,’ बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । २०१८ मार्चमा पहेलो रिबन देखाएको र त्यो स्वतन्त्र क्याटलोनियाको प्रतीक भएको भन्दै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलामाथि जरिवानाको सजाय सुनाइएको थियो ।
प्रकाशित: २८ आश्विन २०७६ ०१:४७ मंगलबार