९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

भारतलाई साफ यु–१८ उपाधि

काठमाडौं – खुसीयाली मनाउने क्रममा पहेंलो कार्ड महँगो साबित हुँदाको दिन आइतबार भारतसँग २–१ ले स्तब्ध हुँदा बंगलादेश नेपालमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिपमा लगातार दोस्रो पटक उपविजेता बनेको छ।

हलचोकस्थित एपिएफ क्लबको मैदानमा आइतबार सम्पन्न फाइनलमा भारतले बंगलादेशमाथि २–१ को रोमाञ्चक जित निकाल्दा बंगलादेश लगातार दोस्रो पटक उपविजेतामा खुम्चिएको हो। यसअघि सम्पन्न दोस्रो संस्करणमा बंगलादेश नेपालसँग पराजित हुँदा उपविजेता बनेको थियो। विजयी भारत पहिलो संस्करणमा उपविजेता बनेको थियो। नेपालसँगको प्रतिस्पर्धामा नै भारत उपविजेता बनेको थियो।  

नेपालमा सम्पन्न तेस्रो संस्करणको उपाधि जितेसँगै भारत साफ यु–१८ च्याम्पियनसिपमा उपाधि जित्ने नयाँ टोली भएको छ। भारतलाई जित दिलाउन विक्रमप्रताप सिंह र रविबहादुर रानाले समान एक गोल गरे। बंगलादेशका एसिन अर्फातीले एक गोल फर्काए। निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको पहिलो हाफमै ३ खेलाडी रातो कार्ड सामना गर्दैै मैदानबाट बाहिरिएका थिए। सुरुआतबाट नै दबाबमा राखेको भारतले दोस्रो मिनेटमा प्रताप सिंहको गोलबाट अग्रता लिन सफल भएको थियो।  खेलको २२औं मिनेटमा भारत र बंगलादेशका एक÷एक खेलाडी झगडामा उत्रिएपछि नेपालका रेफ्री कबिन व्यञ्जनकारले उनीहरूलाई रातो कार्डको दर्शन गराउँदै मैदानबाहिर पठाएका थिए। भारतका गुर्किरात सिंह र बंगलादेशका मोहमद रिडोयलाई दोस्रो पहेलो कार्ड दिँदै मैदानबाट बाहिर पठाएका हुन्।

पछि परेको बंगलादेशले खेलमा फर्किन आक्रामक खेल्दा ३९औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्यायो। अर्फातीले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए। बराबरी गोल फर्काएपछि खुसी मनाउने क्रममा जर्सी फुकालेपछि उनले दोस्रो पहेंलो कार्डसहित रातो कार्ड पाउँदा मैदानबाट बाहिरिनुपरेको थियो। जुन बंगलादेशका लागि महँगो साबित हुन पुग्यो।

दुई खेलाडी रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिँदा ९ खेलाडीमा सीमित बनेको बंगलादेशविरुद्ध कम खेलाडी भएको फाइदा भारतले इन्जुरी समयमा मात्र लिन सफल भयो। थपिएको समयमा रविबहादुर रानाले गोल गर्दै टोलीको जित निश्चित गरे। उनको त्यो गोल निर्णायक बनेसँगै भारतले उपाधि चुम्न सफल भयो।

प्रतियोगिताअन्तर्गत आइतबारै तेस्रो स्थानका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको प्रतिस्पर्धामा माल्दिभ्सले भुटानलाई १–० ले पराजित ग¥यो। माल्दिभ्सको जितमा इब्राहिम इमरानले ७५औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो।

प्रतियोगितामा भारतका खेलाडी निन्थोइनगान्बा मेतेइ र बंगलादेशका माराज हुसेन र फैसल अहमेद फोइन सर्वाधिक गोलकर्ता बने। एन्फाले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा  लिग सञ्चालन गरेको थियो। प्रतियोगितामा गत अघिल्ला दुई संस्करणको उपाधिविजेता नेपाल समूहचरणबाट बाहिरिएको थियो।  नेपाल समूह चरणबाटै बाहिरिएसँगै मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका थिए। तेस्रो संस्करणको उपाधि जितेसँगै भारत साफ यु–१८ च्याम्पियनसिपमा उपाधि जित्ने नयाँ टोली भएको छ। पहिलो र दोस्रो संस्करणको उपाधि नेपालले जितेको थियो।

प्रकाशित: १३ आश्विन २०७६ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App