१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

समालिन नसक्दा नेपाललाई बराबरी

काठमाडौं– अन्तिम समयमा समालिन नसकेपछि नेपालले एएफसी यु–१६ च्याम्पियनसिपको छनोटमा कुवेतसँग बराबरी खेल्दै अंक बाँडेको छ। छनोटको समूह ‘ए’ मा रहेको नेपाल अन्तिम मिनेटमा पेनाल्टीमातर्फ गोल बेहोरेपछि कुवेतसँग १–१ को बराबरीसहित अंक बाँड्न बाध्य भएको हो।

जोर्डनको प्रिन्स मोहम्मद रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुआतमा गोल गर्दै नेपालले कुवेतमाथि दबाब बनायो। ७४औं मिनेटमा नेपालका लागि दीपेश राईले गोल गर्दै अग्रता दिलाए ।

त्यो गोल नै यस प्रतियोगितामा नेपालले गरेको पहिलो गोलसमेत हो। तर, अन्तिम समयमा समालिन नसकेपछि नेपालले कुवेतसँग अंक बाँड्यो। थपिएको पाँच मिनेटको अन्तिम मिनेटमा कुवेतले पेनाल्टी पाएको थियो। अब्दुलाहव अलहिन्दीले गोल गर्दै कुवेतका लागि नेपालसँग अंक खोस्न सफल भए। 

यस छनोटमा नेपालले अंकको खातासमेत खोलेको छ। पाँच टोली सम्मिलित समूहमा दुई खेलबाट नेपालको एक अंक भएको छ भने समान खेल खेलेको कुवेतको ४ अंक छ। एक खेलबाट जोर्डन र ताजकिस्तानको ३/३ अंक छ। २ खेलमा पराजय बेहोरेको श्रीलंका अंकविहीन छ।

समूहको तेस्रो खेलमा नेपालले शुक्रबार ताजकिस्तानको सामना गर्नेछ। छनोट चरणमा ११ समूहका शीर्ष हुने टोली एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछन्। उत्कृष्ट चार उपविजेताले पनि अन्तिम प्रतियोगिताका लागि अवसर पाउनेछ।

नेपालले समूहको आफ्नो पहिलो खेलमा घरेलु टोली जोर्डनसँग ७–० को लज्जापूर्ण हार बेहोरेको थियो । त्यो हारपछि नै जित निकाल्ने नेपालसँग राम्रो अवसर थियो। तर समालिन नसक्दा ठूलो अवसर गुमायो ।

हालै मात्र विश्वकप तथा एसियाली छनोटअन्तर्गत खेलमा नेपालले कुवेतसँग लज्जास्पद पराजय बेहोरे पनि युवा टोलीले पनि सानदार प्रदर्शन गरेको थियो । विश्वकप छनोटमा भने नेपालले कुवेतसँग ७–० को हार बेहोरेको थियो । त्यसको बदला लिने अवसर युवा टोलीलाई थियो । तर टोलीले अवसरको  सदुपयोग भने गर्न सकेन ।

 

प्रकाशित: १ आश्विन २०७६ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App