२७ श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

१९ वर्षे जोडारको सनसनी, अब इतिहास रच्न एक जित टाढा

स्पेनका १९ वर्षीय राफेल जोडार पुरुष टेनिसमा नयाँ इतिहास बनाउने संघारमा पुगेका छन्।

क्यानडियन ओपनको सेमिफाइनलमा प्रवेश गरेसँगै जोडार पुरुष टेनिसको शीर्ष १० मा सबैभन्दा छिटो पुग्ने खेलाडी बन्ने दौडमा छन्। मोन्ट्रियलमा भएको क्वार्टरफाइनलमा जोडारले फ्रान्सका आर्थर फिल्सलाई ७–६ , ६–३ ले हराए। यो जितसँगै उनी प्रत्यक्ष एटीपी वरीयतामा ११औँ स्थानमा उक्लिएका छन्।

अब सेमिफाइनलमा ब्रान्डन नाकाशिमालाई पराजित गरे जोडार शीर्ष १० मा प्रवेश गर्नेछन्। तर बेन शेल्टन पनि फाइनल पुगेको अवस्थामा भने जोडारले फाइनलमा शेल्टनलाई समेत हराउनुपर्नेछ।

शीर्ष १०० बाट शीर्ष १० मा पुग्ने सबैभन्दा छोटो समयको पुरुष कीर्तिमान अहिले बोरिस बेकरको नाममा छ। बेकरले सन् १९८५ मा १८ वर्षको उमेरमा २१० दिनमा यो उपलब्धि हासिल गरेका थिए। जोडारले क्यानडियन ओपनमै शीर्ष १० मा प्रवेश गरे उनले केवल १४० दिनमा बेकरको कीर्तिमान तोड्नेछन्। यस प्रतियोगितामा त्यो सम्भव नभए पनि आगामी सिनसिनाटी मास्टर्स वा अमेरिकी ओपनमा राम्रो प्रदर्शन गरे जोडारले बेकरको कीर्तिमान तोड्ने सम्भावना बलियो छ।

जोडारको उकालो २१औँ शताब्दीका टेनिसका ठूला स्टारहरूको भन्दा निकै तीव्र छ। कार्लोस अल्काराजलाई शीर्ष १०० बाट शीर्ष १० पुग्न ३३६ दिन लागेको थियो। नोभाक जोकोभिचले ६२३ दिन, राफायल नाडाल र यानिक सिनरले ७३५ दिन तथा रोजर फेडेररले ९७३ दिन लगाएका थिए।

प्रकाशित: २७ श्रावण २०८३ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App