काठमाडौं – वाइ बी घलेले नेपालबाट पहिलो अन्तर्राष्ट्रिय गोल गर्दाको टोली कुवेतविरुद्ध मैदान उत्रिँदै नेपालले आज (बिहीबार) कतार विश्वकप छनोट यात्रा सुरुआत गर्दै छ। फिफा वरीयतामा नेपालभन्दा १० स्थान माथि रहेको टोली कुवेतसँग अवे खेल खेल्न लागेको हो। नेपालमा आयोजना हुने भनिए पनि भौतिक पूर्वाधारका कारण नेपालले पहिलो अवे खेल खेल्न लागेको हो।
२२औं संस्करणको विश्वकप कतारमा आयोजना हुँदा नेपालले छनोट खेल खेल्न लागेको यो आठौं पटक हो। बिहीबार नेपाल कुवेतविरुद्ध उसैको मैदानमा उत्रिँदा निकै संयमित हुनेछ। घरेलु टोलीलाई रोक्दै विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ। सन् २०२२ को विश्वकप र सन् २०२३ को एसियन कपको संयुक्त छनोटको रूपमा रहेको प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ।
समूह ‘बी’ मा नेपालसहित कुवेत, जोर्डन, चाइनिज ताइपेई र एसियाली पावर हाउस अस्ट्रेलिया छन्। छनोटअन्तर्गत नेपालले पहिलो खेल बिहीबार कुवेतसँग खेल्न लागेको हो। खेल स्थानीय समयअनुसार बेलुका ८ बजे कुवेत सिटीको स्टेडियम अफ कुवेत स्पोर्ट्समा हुनेछ।
कुवेतसँगको इतिहास हेर्दा नेपालले अहिलेसम्म सुखद नतिजा निकाल्न सकेको छैन। सन् १९८२ को एसियन गेम्समा नेपाल ३–१ ले पराजित हुँदा इतिहास बनेको थियो। त्यस खेलमा नेपालको तर्फबाट गोल गरेका वाइ बी घलेले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका थिए। त्यस यता नेपालले गोल गर्न सकेको छैन। नेपालले पछिल्लो पटक कुवेतसँग गत मार्चमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो।
मार्च २१ मा कुवेतलाई उसैको मैदानमा नेपालले गोलरहित बराबरीमा रोकेको थियो। यस्तै मार्च २५ मा नेपालमा भएको खेलमा नेपाल १–० ले पराजित भएको थियो। नेपालले अहिलेसम्म कुवेतसँग ६ खेल खेलेको छ। खेलेको ६ मध्ये ५ खेलमा नेपालले पराजय भोगेको छ भने एक खेल बराबरीमा सकिएको छ। यो अवधिमा नेपालले २२ गोल खाँदा १ गोल मात्र गरेको छ। त्यो पनि वाइ बी घलेले नेपालका लागि गरेको पहिलो अन्तर्राष्ट्रिय गोल हो।
अहिलेसम्म विश्वकप छनोटमा खेलेका कुल ३० खेलमा नेपालले २२ गोल गर्दै सय गोल खाएको छ। प्रतिस्पर्धा गरेका ३० खेलमा नेपालले ४ खेलमा सुखद नतिजा निकाल्दा २२ खेलमा नतिजा सुम्पिएको छ। यस्तै ४ खेल बराबरीमा सकिएको छ। नेपालले मकाउलाई २ पटक र टिमोर लेस्टेलाई २ पटक पराजित गरेको इतिहास छ। विश्वकप छनोटमा प्रवेश गरेको ३३ वर्षे इतिहासमा नेपाल सन् २०१४ को संस्करणमा मात्र प्रारम्भिक चरण पार गरेर दोस्रो चरण खेलेको थियो ।
दशरथ रंगशालामा भएको प्ले–अफमा टिमोर लेस्टेलाई २–१ र ५–० ले पराजित गरेको नेपाली टोली दोस्रो चरणमा जोर्डनविरुद्ध हारेको थियो । अम्मानमा ९–० ले हारेको पाँच दिनभित्रै नेपालले भरत खवासको आकर्षक गोलसँगै घरेलु मैदानको दोस्रो लेगमा जोर्डनलाई १–१ मा रोकेको थियो । त्यसपछि आउँदो संस्करणका लागि भाग्य बलियो बन्दा नेपालले दोस्रो चरणमा सोझै खेल्ने मौका पाएको हो।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पछिल्लो पटक ४ अप्रिल, २०१९ मा जारी गरेको वरीयतामा नेपाली पुरुष टिम १ सय ६१औं स्थानमा रहेको थियो, जुन एसियाली वरीयतामा ३४औं स्थान हो। एएफसीले एसियाली वरीयताका शीर्ष ३४ टोलीले छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने जनाएको थियो। त्यसैअनुसार नेपालले विश्वकप छनोटमा पहिलो पटक सीधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने मौका पाएको हो।
बिहीबार नेपाल र कुवेतबीचको खेललाई युरोपेली प्रशिक्षकको प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ। स्विडेनका योहान कालिनले नेपाली टोलीलाई सम्हाल्दा कुवेती टोलीलाई क्रोएसियाका रोमियो जोजाकले सम्हाल्नेछन्। यसअघि कुवेतका क्रोएसियन प्रशिक्षक जोजाकले पोल्यान्डको शीर्ष क्लब वार्सालाई प्रशिक्षण दिएका थिए। दुवै प्रशिक्षक युरोपका भएकाले यी दुईबीचको प्रतिष्ठाका रूपमा पनि हेरिएको हो।
बलियो टोली कुवेतविरुद्धको राम्रो खेल खेल्दै सुखद सुरुआत गर्ने लक्ष्यमा रहेको नेपाली टोलीका प्रशिक्षक योहान कालिनले बताए। ‘कुवेत बलियो टोली हो। यद्यपि हामीले आफ्नो स्वाभाविक खेल खेल्दै सुखद सुरुआत गर्ने लक्ष्यमा छौं,’ प्रशिक्षक कालिनले भने, ‘हामी अन्डरडग हुनेछौं। जति सक्दो राम्रो खेल्ने हो। गत मार्चमा भएको खेलमा हामीले राम्रो खेलेका थियौं। रक्षापंक्तिलाई बलियो बनाएका थियौं। यसपालि आक्रामक फुटबल खेल्दै नतिजाको खोजीमा हुनेछौं।’
यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले दुई खेल खेलिसकेकाले उनीहरुविरुद्ध राम्रो खेल्दै विश्वकप छनोट सुखद सुरुआत गर्ने लक्ष्यमा रहेको प्रतिक्रिया दिए। ‘प्रशिक्षकले भनेजस्तै हामीले उनीहरूको खेललाई सम्मान गर्दैै मैदान उत्रिने हो,’ कप्तान किरणले भने, ‘राम्रो तयारी गरेका छौं। स्वाभाविक खेल खेल्ने हो।’
नेपाली टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ स्वास्थ्यका कारण बिहीबार मैदान उत्रिने अनिश्चित छ। ज्वरो आएकाले उनलाई डाक्टरले धेरै तरल पदार्थ पिउन सुझाएका छन्। प्रतिस्पर्धा गर्न लागेको टोली कुवेतविरुद्ध नेपाल राम्रो खेल्दै सुखद सुरुआतको खोजीमा हुनेछ। कुवेतले सन् १९८० मा एएफसी एसियन कपको उपाधि उचालेको इतिहास छ भने सन् १९८२ मा स्पेनमा भएको विश्वकपमा पहिलो पटक विश्वकप खेलेको थियो। कुवेतविरुद्ध छनोट खेल्दै विश्वकप छनोट सुरुआत गर्ने नेपाली टोली भदौ २४ गते चाइनिज ताइपेईविरुद्ध उसैको मैदानमा दोस्रो खेल खेल्दै छ।
प्रकाशित: १९ भाद्र २०७६ ०३:४२ बिहीबार