लन्डन – इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले युभेन्ट्सका स्ट्राइकर पाउलो डिबालासँगको सम्झौता प्रक्रिया रद्द भएको जनाएको छ। युनाइटेडले डिबालालाई ओल्ड ट्राफोर्ड भिœयाउने र बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुलाई टुरिन पठाउने गरी सम्झौता प्रक्रिया अघि बढाएको बताएको थियो। युभेन्ट्स पनि डिबालालाई फुकुवा गर्दै लुकाकुलाई क्लबमा अनुबन्धित गर्न इच्छुक देखिएको थियो। यद्यपि डिबालाले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।
राम्रा खेलाडीको खोजीमा रहेको युनाइटेडले प्रशिक्षक ओले गनर सोल्सजायरको सल्लाहमै अर्जेन्टिनी फरवार्ड डिबालालाई ओल्ड ट्राफोर्डमा स्वागत गर्ने योजना अघि सारेको थियो। डिबाला २०१५ मा पालेर्माेबाट युभेन्ट्समा अनुबन्धन भएका थिए। गत सिजन उनले इटालियन सिरी ‘ए’ च्याम्पियनका लागि १० गोल गरेका थिए। डिबालाले अक्टोबरमा च्याम्पियन्स लिगको समूहचरण पहिलो लेगको खेलमा युनाइटेडविरुद्ध एक गोल गरेका थिए।
यता लुकाकुको आगामी गन्तव्यका बारेमा युनाइटेड अझै अन्योलमै छ। लुकाकु २०१७ मा एभर्टनबाट युनाइटेड भित्रिएका थिए। उनले गत सिजन टोलीका लागि सबैखाले प्रतियोगितामा १२ गोल गरेका थिए। युनाइटेडले जुलाईमा लुकाकुका लागि इन्टर मिलानले गरेको अनुबन्धन प्रस्ताव अस्वीकार गरेको थियो। त्यस्तै सोल्सजायरले फ्रान्सेली मिडफिल्डर पाउल पोग्बा अझै क्लबमा रहनेमा विश्वस्त रहेको बताएका छन्।
यता इनटर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले लुकाकुसँगको अनुबन्धन प्रक्रिया नटुङ्गिएकाले उनी इन्टर आउनेमा आशावादी भएको बताएका छन्। ‘हामी लुकाकुलाई अनुबन्धन गर्ने प्रयासमा निरन्तर लागिरहेका छौं,’ कोन्टेले भने, ‘दुई क्लबबीच केही असमझदारी छ। तर हामी त्यसलाई सुल्झाउन लागिपरेका छौं।’
प्रकाशित: २१ श्रावण २०७६ ०१:५३ मंगलबार