५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

योग्य रेफ्रीलाई जिम्मेवारी दिनुपर्छ : पोन्टिङ

सिड्नी – अस्ट्रेलियाका पूर्वकप्तान रिक्की पोन्टिङले इङ्ल्यान्डमा जारी एसेज टेस्ट शृंखलाअन्तर्गत पहिलो दिनको खेलमा धेरै गल्ती भएको भन्दै तटस्थ देशका रेफ्री राख्नुपर्ने नियमलाई परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन्।

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको एसेज टेस्टअन्तर्गत पहिलो दिनको खेलमा पाकिस्ताका अलिम डार र वेस्ट इन्डिजका जोवल विल्सनले गरेको निर्णयमा धेरै आलोचना भएको थियो। उनीहरूले खेलदौरान लिएका निर्णय रिभ्यु लिँदा गलत भएका थिए। अस्ट्रेलियाको प्रतिष्ठित क्लब म्यारिलिबोन क्रिकेट क्लब (एमसिसी) का सदस्य समेत रहेका पोन्टिङ अस्ट्रेलियन क्रिकेट कमिटीका प्रभावशाली पदाधिकारी पनि हुन्। साथै पोन्टिङले आउँदो बैठकमा यसबारे कुरा राख्ने बताए।

‘खेलाडीसँग पनि यसबारेमा ब्यापक छलफल भएको छ। यदि यस विषयलाई नउठाइए आउँदो बैठकमा मुख्य एजेन्डाका रूपमा उठाउनेछु’ पोन्टिङले क्रिकेट अस्ट्रेलिया (सिए)को वेभसाइटमा भनेका छन्। ‘तटस्थ रेफ्रीको स्थानमा राम्रा र सही निर्णय समयमै गर्न सक्ने रेफ्रीलाई खेलमा चुनिनु आवश्यक छ। चाहे त्यो तटस्तथ देशको होस् या सम्बन्धित टोलीको देशको होस्। योग्य र राम्रा रेफ्रीले खेल खेलाउन जरुरी छ,’ पोन्टिङले थपे, ‘अहिलकोे युगमा प्राविधिक पक्ष बलियो छ भन्दैमा यसैमा भर पर्नु पनि त्यति राम्रो होइन। निर्णय रिभ्यु प्रणालीलाई धेरै पटक प्रयोगमा ल्यानु कुनै बेला नकारात्मक पनि बन्न सक्छ। जारी टेस्ट खेलमा हामी भाग्यमानी भएका छौं, प्राविधिक निर्णय हाम्रो पक्षमा देखिएको छ।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सन् २००२ बाट तटस्थ देशका रेफ्रीलाई जिम्मेवारी दिने निर्णयलाई अगाडि सारेको थियो। सोही निर्णयअनुसार अहिले कुनै पनि प्रतियोगिता सञ्चालन भइरहेको छ। विश्वकै उत्कृष्ट प्रतियोगिताका रूपमा हेरिने एसेज टेस्ट यही प्रावधानका कारण केही आलोचित बनेको छ। उत्कृष्ट रेफ्री इङ्ल्यान्डका रिचर्ड केटलबोरफलाई जिम्मेवार नदिनु सान्दर्भिक नभएको पोन्टिङले टिप्पणी गरे।

‘साँच्चै रिचर्ड यस टेस्टका लागि उत्कृष्ट रेफ्री हुन्। उत्कृष्ट रेफ्रीले राम्रा प्रतियोगिताबाट बाहिर बस्नु परिरहेको यथार्थ हो,’ पोन्टिङ भने, ‘यस्तै कारणले खेलमा नै जीवन व्यतीत गरेका रेफ्री अवकाश लिने अवस्थामा पुगेका छन्। उनीसँगै अस्ट्रेलियाका पूर्वरेफ्री सिमन टाउफेलले अधिकांश समय देशभन्दा बाहिर बिताए। उनी पनि दाबेदार रेफ्री हुन्।’ यस्तै एमसिसीका अर्का सदस्य तथा अस्ट्रेलियाका पूर्वस्पिनर सेन वार्नले पनि तटस्थ देशको रेफ्रीलाई जिम्मेवार दिनुपर्ने प्रावधानको आलोचना गरेका छन्। उनले पहिलो दिनको टेस्ट खेललाई लिएर ‘होरिफिक’(डरलाग्दो) उपनाम दिएका छन्।

‘इङ्ल्यान्डले राम्रो बलिङ गरेको छ। तैपनि रेफ्री डर मान्दै अधिकांश बललाई रिभ्यु लिइरहेका छन्,’ सेन वार्नले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। खेल कानुनको अभिभावक मानिने एमसिसी क्रिकेट कमिटीपूर्व खेलाडीहरूको स्वतन्त्र संस्था हो। यो संस्थाले प्रत्येक दुई वर्षमा खेलमा भएको घटनाक्रमलाई लिएर छलफल गर्दै समाधानको उपाय र राय सुझाव दिने गरेको छ।

प्रकाशित: २० श्रावण २०७६ ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App