नयाँ दिल्ली – दुई देशबीचको टकरावका बावजुद भारतको टेनिस टोली डेभिस कपको आफ्नो समूहको खेल खेल्न पाकिस्तान जाने भएको छ। सन् १९४७ मा स्वतन्त्र भएपछि तीन पटकसम्म युद्ध भएको पाकिस्तान र भारतबीच विभिन्न क्षेत्रको भूभागका विषयलाई लिएर लामो समयदेखि विवाद उत्पन्न हुँदै आएको छ। जसका कारण यी देशबीचको खेलमा पनि प्रभाव पर्ने गरेको छ। पाकिस्तानी टोली भारतमा आउने भए पनि भारतले भने आफ्ना खेलाडीलाई पाकिस्तान जान विभिन्न बहानामा रोक लगाउँदै आएको छ।
लामो समयदेखिको राजनीति द्वन्द्वसँगै गत फेब्रुअरीमा काश्मिरमा ४० जना भारतीय सेना मारिएपछि यी देशबीचको सम्बन्धमा थप चिसोपना आइरहेको छ। त्यो घटनामा भारतले पाकिस्तानको हात रहेको आरोप लगाइरहेको छ। जसका कारण गत फेब्रुअरीमा भारतले आफ्नो देशमा भएको सुटिङ विश्वकपमा पाकिस्तानी खेलाडीलाई भिसा अनुमति दिन अस्वीकार गरेको थियो।
सोही कारणले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भारतमाथि कारबाहीसमेत गरेको थियो। विश्वकप क्रिकेटमा भने भारतले पाकिस्तानसँग खेल्न नहुने तर्कहरू भए पनि खेल भने सञ्चालन भएको थियो। तर, यस पटक भने भारतकै टेनिस टोली पाकिस्तान जाने भएपछि विश्व खेलकुदमा यसको ठूलो चर्चा सुरु भएको छ।
अल इन्डिया टेनिस एसोसिएसनले आगामी सेप्टेम्बर १४ र १५ मा पाकिस्तानमा हुने एसिया क्षेत्रको समूह ‘वान’ खेलका लागि भारत सरकारले अनुमति दिएको जनाएको छ। ‘हाम्रो टोली पाकिस्तान खेल्न जाने पक्का हो,’ भारतीय टेनिसका अध्यक्ष प्रवीन महाजनले भने, ‘सरकारले हामीलाई अनुमति दिइसकेको छ।’ उनले सबै प्रक्रिया पूरा गरेपछि मात्र सरकारले आफूहरूलाई खेल्न अनुमति दिएको बताएका छन्।
सन् २००८ को मुम्बई अट्याकिङ भएपछि भारत र पाकिस्तानीबीचको क्रिकेटको शृंखला पनि हुन सकेको छैन। गत विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि जित निकालेपछि भारतीय एक मुख्यमन्त्रीले दुस्मनको क्षेत्रका गतिलो आक्रामण भन्दै टिप्पणीसमेत गरेका थिए। यसअघि भारतको टेनिस टोलीले अन्तिम पटक पाकिस्तानको यात्रा गर्दा सन् १९६४ को डेभिस कपमा खेलेको थियो।
जसमा भारतले ४–० ले खेल आफ्नो पक्षमा पारेको थियो। पाकिस्तान सन् २००६ मा भारतको मुम्बईमा पनि ३–२ ले पराजित भएको थियो। त्यसपछि पनि पाकिस्तानले डेभिस कप घरेलु मैदानमा आयोजना गर्ने दाबी गरे पनि सुरक्षाका कारण न्युट्रल भेन्युमा खेलाइएको थियो। पाकिस्तानको इस्लामाबादमा हुने खेलका लागि यस पटक भने भारत जाने भएको छ। अगस्टको पहिलो साता नै भारतले पाकिस्तान यात्रा गर्नेछ। गत फेब्रुअरीमा काश्मिरमा ४० जना भारतीय सेना मारिएपछि यी देशबीचको सम्बन्धमा थप चिसोपना आइरहेको छ।
प्रकाशित: १४ श्रावण २०७६ ०२:०५ मंगलबार