काठमाडौं – नेपालकी हुमी बुढामगर जापानमा भएको माउन्ट ताइसेचुु ट्रायल जर्नी अल्ट्रा म्याराथनमा च्याम्पियन भएकी छन् । जापानको होकाइदोमा आइतबार भएको ४० किलोमिटर दौडमा दुई जना निकटतम घरेलु प्रतिद्वन्द्वीलाई पछि पार्दै हुमी च्याम्पियन भएकी हुन् । उक्त प्रतियोगितामा चुनौती प्रस्तुत गर्न शनिबार मात्र जापान पुगे पनि हुमीले सफलता हात पारिन् । करातेकी ब्ल्याक बेल्टधारी खेलाडीसमेत रहेकी हुमीले आइतबारको ४० किलोमिटर उक्त दूरी ५ घण्टा ३२ मिनेट २५ सेकेन्डमा पूरा गरेकी थिइन् ।
दोस्रो स्थान र तेस्रो स्थानमा रहेका जापानी खेलाडी क्रमशः१० मिनेट र १५ मिनेटले पछि परेको अल्ट्रा धाविका मीरा राईले जानकारी दिइन् । सन् २०१८ को नोभेम्बरमा हङकङमा भएको समिट ट्रायल च्यालेन्जमा च्याम्पियन भएपछि हुमीले जापानको प्रतियोगिताको यात्रा तय गरेकी थिइन् ।
मीरा राई इनिसिएटिभको पहलमा ग्रिन ट्रायल हङकङको प्रायोजनामा हुमीले उक्त प्रतियोगिता खेल्ने अवसर पाएकी हुन् । मीरा राईसँगै हुमीले जुम्ला प्रशिक्षण गर्दै आइरहेकी थिइन् । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्न हुमी शनिबार राति मात्र जापान पुगेकी थिइन् । गत साउन ७ गते प्रतियोगिता खेल्न जाने क्रममा हुमीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले आउनेजाने एउटै एयरलाइन्सको टिकट नभएकाले राति १० बजे फिर्ता पठाइदिएका थिए । जसको कारण पुनः टिकट खरिद गर्नुपरेकाले हुमी लामो यात्राबाट बिना आराम प्रतियोगितामा प्रतिस्पर्धा बाध्य भइन् । तर, हुमीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भइन् ।
करातेका प्रशिक्षक ध्रुवविक्रम मल्लले आफ्नै लगानीमा देशको नाम अन्तर्राष्ट्रिय स्तरमा पैmलाउन सफल खेलाडीलाई एयरपोर्टका कर्मचारीले विभिन्न बहानामा रोकेको भन्दै दुखेसो पोखे । ‘खेलकुदमार्पmत देशको गौरव बढाउने खेलाडीलाई विभिन्न बहानामा एयरपोर्टमा दुःख दिनु निकै पीडादायी स्थिति हो,’ हुमीका कराते प्रशिक्षकसमेत रहेका ध्रुवले भने,‘एयरपोर्टका कर्मचारीले जति नै दुःख दिए पनि मिहिनेती र प्रतिभाशाली खेलाडीले सफलता प्राप्त गरिन् ।’ हुमीले एयरपोर्टका कर्मचारीका कारण पुनः टिकट खरिद गर्नुपरेकाले हुमी लामो यात्राबाट बिना आराम प्रतियोगितामा प्रतिस्पर्धा बाध्य भइन् ।
प्रकाशित: १३ श्रावण २०७६ ०१:१९ सोमबार