१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

सागमा पदक जित्ने लक्ष्य

काठमाडौं – तेक्वान्दोकी खेलाडी संगीता बस्याल विगत सात वर्षदेखि राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्दै आइरहेकी छिन्। खेल्न सुरु गर्दा देशका लागि लामो समयसम्म खेल्ने संगीताको लक्ष्य थिएन। तर, हाल उनको लक्ष्य फेरिएको छ। समयसँगै संगीताले खेललाई नै आफ्नो जीवनको मुख्य लक्ष्य बनाइसकेकी छन्। आफ्नो शरीरले साथ दिएसम्म देशका लागि खेल्दै पदक जित्ने उनको अठोट छ। खेल करियरको प्रारम्भमा यस्तो लक्ष्य थिएन। सुरुमा उनले मनोरञ्जनका लागि मार्सल आर्टर्स खेलिन्।

अहिले त्यही मार्सल आटर््सबाट देशलाई पदक दिलाउने उनको लक्ष्य छ। अन्जानमै खेल्न सुरु गरेकी संगीतामा खेलप्रति पूर्ण ज्ञान पनि थिएन। तर अहिले यही खेल नै जीवनयापनको माध्यम भएको संगीताको बुझाइ छ। हरेक मानिस जीवनमा कयौं पटक अपत्यारिलो क्षण आइरहन्छ। संगीताका लागि पनि लामो समयदेखि तेक्वान्दो खेलिरहनु अपत्यरिलो क्षण थियो।

बाफलमा रहेको ज्ञानोदय माविमा पढ्ने क्रममा विद्यालय आवतजावत गर्दा संगीताले सदैव बाटो छेउमा मार्सल आर्ट्स खेलेको हेर्थिन्। त्यस समय कक्षा पाँचमा अध्ययनरत संगीताकी साथी सबी बस्याललाई पनि उक्त मार्सल आर्ट्स खुबै मन प¥यो। हकी स्वभावकी संगीता र सबीलाई यो खेल खेल्ने रहर जाग्न थाल्यो। दुवै जनाले उक्त खेलको प्रारम्भ गरे। तर, खेल्नका लागि घरबाट स्वीकृति लिनुपथ्र्यो।  घरबाट किन खेल्नुप¥यो भन्ने जबाफ आयो। तर पनि संगीता र सबीले खेले। वि.सं. २०६४ सालमा बाफलमा रहेको काठमाडौं तेक्वान्दो डोजाङबाट प्रशिक्षक राम गिरीबाट संगीताले खेल्न सुरु गरिन्। खेल सुरु गर्दा संगीताले कराते होला भन्थिन्। उनी आफैले पनि घरमा स्वीकृत माग्दा कराते खेल्नका लागि अनुमति मागेकी थिइन्। धेरै पछि मात्र थाहा भयो, उनले सानैदेखि खेलेको खेलको नाम तेक्वान्दो थियो। आफ्नो पढाइसँगै उनले खेल करियरलाई पनि अगाडि बढाइरहिन्। सुरुआती प्रतियोगिताहरू खेल्दा उनले धेरै पटक निराश हुनुप¥यो। हारेको देखेपछि घरमा किन खेल्नुप¥यो ? भन्ने प्रश्न आइरहन्थ्यो।

‘हजुरआमाले भने खेल्नुपर्छ र एकदिन राम्रो भइन्छ  भनेर हौसला दिनुहन्थ्यो,’ संगीता भन्छिन्, ‘तर पछि अनुभव बढ्दै गएपछि पदक पनि जित्न थालें। घरमा सबै जना खुसी हुनुभयो। अहिले सबैको साथ छ। त्यसैले होला, यतिका समयसम्म खेल्न पाइरहेको छु।’ खेल करियरलाई राम्रैसँगै अगाडि बढाएकी संगीताले शिक्षालाई भने सँगै डो¥याउन सकिनन्। एसएलसी उत्तीर्ण गरेपछि उनले खेलमा मात्र ध्यान दिइन्।

संगीता भन्छिन्, ‘सुरुमा बिहान र बेलुका खेल्दा पढाइ छोडिन्छ, राम्रोसँग पढ्न पाउदिनँ भनेर खेलमा मात्र ध्यान दिएँ। यसपालिदेखि पुनः पढ्नेछु। अब पढाइ र खेललाई सँगै अगाडि बढाउँछु।’ खेल करियरको सुरुआती अवस्थामा संगीताले निकै निराशाजनक नतिजाको सामना गरेकी थिइन्। उनी भन्छिन्, ‘सुरुआतका प्रतियोगितामा हार मात्र बेहोरिरहें। नतिजामा हार भए पनि हरेक खेलमा मानसिक रूपमा भने म जितिरहेको हुन्थें।’ ‘खेल्दै जाँदा बिस्तारै आत्मबल बढ्ने रहेछ। त्यही विश्वासले होला हार नमानी खेलें। पछिपछि जित्न थालेँ।’ वि.सं. २०६४ सालमा विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालयमा पहिलो खेल खेलेको थिएँ। सिनियर खेलाडी नै पहिलो खेलमा हुनुहुन्थ्यो, त्यसैले पहिलो चरणभन्दा माथि जान सकिनँ। त्यसपछि नै दुई–तीनवटा प्रतियोगितामा पदक ल्याउन सकिनँ।

सुरुआत धेरै सिक्न बाँकी पनि थियो, त्यसैले पदक ल्याउन सकिनँ भन्ने लाग्यो र चित्त बुझाएँ। तर, वि.सं. २०६५ सालको असोजमा बानेश्वरमा भएको प्रतियोगितामा मेरो लागि खेलजीवनको उत्कृष्ट क्षण थियो। मेरो लामो समयदेखिको प्रतीक्षा त्यहाँ आएर पूरा भयो। काठमाडौं जिल्ला तेक्वान्दोले गरेको उक्त प्रतियोगिताको ५७ केजी तौलसमूहमा फाइनलमा पुगें। तर, स्वर्ण जित्न भने सकिनँ, रजत पदकमै सीमित भएँ। मेरा लागि त्यो पदक अहिले पनि विशेष अर्थ राग्दछ। त्यही पदकले पनि अहिलेसम्म देशका लागि खेलिरहन उत्प्रेरणा दिएको छ। त्यसपछि भने मैले प्रतियोगिताहरूमा पदक जित्न थालेको थिएँ। पदक जित्न थालेपछि खेलबाट करियर अगाडि बढाउने लक्ष्य बनाएँ। एपिएफबाट सुरुआतमा कन्ट्य्राक्टबाट खेल्ने अवसर पाएँ। तर, २०६९ सालदेखि एपिएफमा पूर्णरूपमा भर्ना भएर खेल्दै आएका छु।
त्यसको एक वर्षअगाडि मात्र संगीता राष्ट्रिय टोलीमा समावेश भएकी थिइन्। वि.सं. २०६८ सालमा साउनमा भएको चौथो कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिपमा संगीताले फाइनलको यात्रा तय गरिन्। तर, फाइनलमा भने उनी एसियन गेम्सकी पदक विजेता मनिता साहीसँग पराजित हुन पुगिन्। नेपाल तेक्वान्दो संघले सोही खेलमा पहिलो र दोस्रो हुने खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गरेको थियो।

त्यहाँदेखि उनी राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्दै आइरहेकी छन्। तर, अन्तर्राष्ट्रिय सहभागिताका क्रममा भने उनले कमै अवसर पाउँछिन्। संगीता भन्छिन्, ‘हाइटका कारणले अन्तर्राष्ट्रिय प्रतियोगितामा कमै अवसर पाउने गर्छु। तर, पाएका केही अवसरहरूमा शतप्रतिशत दिने प्रयास गरेको छु।’ गत वर्ष १८औं एसियाड पनि तुलनात्मक रूपमा संगीताले आशालाग्दो प्रदर्शन गरेकी थिइन्। फिलिपिन्सकी खेलाडी डार्लिन अर्पोनलाई कडा चुनौती दिए पनि उनी २०–१७ स्कोरले स्तब्ध भइन्। ३६

सेकेन्ड बाँकी छँदासम्म खेल १६–१६ को बराबरीमा थियो। तर कम अनुभवी खेलाडी संगीता अट्याकिङ खेल्दा अंक गुमाउन पुगिन्। लामो समयसम्म राष्ट्रिय टोलीमा भए पनि पहिलो पटक एसियाड खेलेकी संगीताको यस पटक पनि अन्तिम समयमा टुंगो लागेको थियो। सुरुमा चार तौलसमूहलाई मात्र एसियाडमा खेलाउन लागिएको थियो। त्यसैले एसियाडमा खेल्न पाउँछु जस्तो लागेको थिएन। पछि गुरुहरूले अवसर दिनुभयो। तर, सोचेअनुरूप हुन नसकेको संगीता बताउँछिन्।

‘सागमा पदक जित्ने लक्ष्य छ। त्यो त्यति सहज भने छैन,’ संगीता दृढ संकल्पका साथ  भनिन्, ‘निकै मिहिनेत गर्नुपर्छ र गरिरहेको पनि छु।’ अहिले राष्ट्रिय टिममा प्रशिक्षण भइरहेको छैन भन्ने प्रश्नमा संगीता भन्छिन्,‘एपिएफ र घरनजिकको डोजाङमा पनि ट्रेनिङ गरिरहेको छु।’ नेपालमा हुने आगामी १३औं साग पदक जित्ने लक्ष्य रहेको संगीताले दोहो¥याइन्। ‘आफ्नै देशमा खेल्दा आत्मबल पनि उचो हुन्छ,’ संगीता भन्छिन्,‘सोही अनुसार मिहिनेत गरे दक्षिण एसियामा पदक जित्न सकिन्छ।’ संगीताले आफूले खेलेका सीमित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि आफूलाई प्रमाणित गरेकी छन्। हङकङमा भएको २०औं एसियन सिटिज च्याम्पियनसिपमा रजत पदक जित्दा भुटानमा सन् २०१७ मा भएको तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।

उनले सन् २०१४ मा नेपालमै भएको दोस्रो माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन्। संगीता लगातार तेस्रो पटक राष्ट्रिय खेलकुदमा च्याम्पियन खेलाडी हुन्। धनगढीमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता, पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद र गत महिना प्रदेश–५ मा सम्पन्न राष्ट्रिय खेलकुदमा संगीताले लगातार स्वर्ण पदक जितेकी छन्। घरेलु प्रतियोगितामा जति नै पदक जिते पनि देशका कयौं खेलाडीले एकै पटक प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय खेलकुदको महाकुम्भ पदक जित्नु नै एक खेलाडीका लागि जीवनको अमूल्य परिणाम हुने संगीताको भनाइ छ। त्यसैले त्यस्तै एउटा क्षणको प्रतीक्षामा छु। लक्ष्य पूरा नभएसम्म मिहिनेत गर्नेछु। ‘आफ्नै देशमा खेल्दा आत्मबल पनि उचो हुन्छ। सोही अनुसार मिहिनेत गरे दक्षिण एसियामा पदक जित्न सकिन्छ।’

प्रकाशित: २ श्रावण २०७६ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App