१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

बगरमा जिम सेन्टर

जिम सेन्टरमा साइक्लिङको अनुभव लिँदै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ (बीच)। तस्बिरः उमेश पुन/नागरिक

पोखरा– पोखराको बगरमा जिम सेन्टर खुलेको छ। लामो समयदेखि खेलकुदमा लागेका ४ युवा खेलाडीहरूले २ करोडको लागतमा पोखरा महानगरपालिका– १ को बगरस्थित पृथ्वीनारायण क्याम्पसको माथिल्लो गेटअगाडि स्पोटर््स सेन्टरका रूपमा ‘जिम टाउन’ सञ्चालनमा आएका हुन्।

जिम टाउनमा पोखरेली युवा बलराम सुवेदी, गोविन्द मल्ल, नवीन आचार्य र वामदेव सुवेदीको लगानी छ। बलराम केन्पोकाईका प्रशिक्षक हुन् भने गोविन्द बडी बिल्डिङ र फिटनेससम्बन्धी प्रशिक्षक हुन्। फिटनेस र बडी बिल्डिङसम्बन्धी अध्ययन गरेका नवीन जापानमा ६ वर्ष प्रशिक्षणसमेत गराएर फर्किएका युवा हुन् भने वामदेव पनि मार्सल आर्टका खेलाडी हुन्।

‘स्वस्थ नागरिक, समृद्ध नेपाल’ भन्ने नारासहित खुलेको जिम टाउनमा अमेरिकी ‘स्ट्रोङ’ कम्पनीका अत्याधुनिक सामान रहेको सञ्चालकमध्येका एक बलराम सुवेदीले बताए। उनका अनुसार जिम टाउनमा फिटनेस र बडी बिल्डिङसम्बन्धी सम्पूर्ण सामान छन्। पोखराका जिम सेन्टरमध्ये सबैभन्दा ठूलो जिम सेन्टर आफ्नो भएको उनको दाबी छ।

जिम टाउनमा एकै पटक सय जनाले शारीरिक व्यायाम गर्न सक्छन्। महिला र पुरुषका लागि छुट्टाछुट्टै ठाउँ भएकाले व्यायाम गर्न  सजिलो हुने अर्का सञ्चालक नवीन आचार्यले बताए। त्यहाँ फिटनेससम्बन्धी कला  सिकाउन १० प्रशिक्षकसमेत राखिएको उनले जानकारी दिए। जिम टाउन बिहान ५ बजेदेखि राति ९ बजेसम्म खुल्ने आचार्यले बताए।

जिम टाउनमा स्ट्रेस रिलिफ प्रशिक्षणसमेत गराइने सञ्चालक गोविन्द मल्लले जानकारी दिए। उनका अनुसार व्यायाम गर्न आउनेलाई बडी बिल्डिङ, फिटेनसदेखि डाइट प्लानसम्म सिकाइनेछ। जिम टाउनमा एयर कन्डिस्नरसमेत भएकाले सबैका लागि उपयुक्त हुने उनको भनाइ छ। जिम टाउनमा किक बक्सिङदेखि जुम्बा गर्ने, मोटोपन घटाउने, बढाउनेलगायतका शारीरिक व्यायाम सिकाइने उनले बताए।

मानिस स्वस्थ भए मात्र देश समृद्ध बन्ने भएकाले विदेशमा थुप्रै अवसर आए पनि आफू पोखरा फर्केर जिम टाउन खोलेको सञ्चालक नवीन आचार्यले बताए। उनले समृद्धिका लागि नागरिक स्वस्थ हुन जरुरी भएको भन्दै शारीरिक व्यायाम नियमित गर्नेहरूलाई रोग कम लाग्ने बताए। आफूहरूको उद्देश्य सबै स्वस्थ रहून् भन्ने रहेको सञ्चालक बामदेव सुवेदीले बताए।

जिम टाउनलाई स्पोर्ट्स एकेडेमीको रूपमा विस्तार गर्ने योजना रहेको सञ्चालक बलराम सुवेदीले बताए। उनले शारीरिक व्यायाम, फिटनेस, डाइटलगायतकाहरूको कोर्सहरू बनाएर विज्ञ राखेरै स्पोर्ट्स एकेडेमी सञ्चालन गर्ने योजना रहेको बताए।

जिम टाउनको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वस्थ नागरिक उत्पादन गर्न जिम सेन्टरको प्रमुख भूमिका रहने बताए। ‘सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट भइरहेको छ,’ उनले भने, ‘टोलटोलमा जिम सेन्टर खोल्नुपर्छ।’

गण्डकी प्रदेशका सांसद एवम् अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले जिम सोखमा मात्र सीमित नरही शरीर फिट राख्नदेखि स्वस्थ रहनेसम्मका लागि आवश्यक रहेको बताए। सांसद विन्दुकुमार थापाले सबै उमेरसमूहकाले जिम गर्नु आवश्यक रहेको बताए।

प्रकाशित: १ श्रावण २०७६ ०५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App