ढाका – इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका बंगलादेशका ब्याट्सम्यान साकिब अल हसनलाई बाहिर राख्दै बंगलादेश क्रिकेट बोर्डले आगामी श्रीलंका टुरका लागि टोली सार्वजनिक गरेको छ। यस्तै बोर्डले साकिबसँग लिटन दासलाई पनि टोलीमा समावेश गरेको छैन।
उत्कृष्ट प्रदर्शन गरेका साकिब र लिटनलाई विश्वकपपछि श्रीलंकासँगको शृंखलाका लागि टिमबाट बाहिर राख्दै विश्राम दिइएको हो। दश टोलीको सहभागिता रहेको विश्वकपमा बंगलादेशले ९ मध्ये ३ मा जित र ५ मा पराजय भोगेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।
बंगलादेशले जुलाई २६, २८ र ३१ मा तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ। विश्वकपको सेमिफाइनलमा बंगलादेशले स्थान बनाउन नसके पनि साकिबको प्रदर्शनले निकै प्रशंसा पाएको थियो। साकिबले आठ खेलमा ६ सय ६ रन जोड्दा ११ विकेट लिएका थिए। उनी विश्वकप २०१९ मा सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा परेका थिए।
प्रकाशित: १ श्रावण २०७६ ०५:१९ बुधबार