२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

पेनाल्टी सुटआउटमा ट्युनिसियालाई सफलता

इस्माइलिया – घानासँग ५४ वर्षअघि फाइनलमा बेहोरेको हारको बदला लिँदै ट्युनिसिया अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। इजिप्टको इस्माइलियामा सोमबार भएको खेलमा घानालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले स्तब्ध बनाउँदै ट्युनिसियाले सन् १९६५ मा घरेलु मैदानमा फाइनलमा बेहोरेको हारको बदलासमेत लियो।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो। ट्युिनसियाका गोलकिपर फारुक बेन मुस्तफाले नायकत्व प्रदर्शन गर्दै घानाका कालेब एकुसानको पेनाल्टी रोकेका थिए। बेन्चमा सीमित भएका कालेब पेनाल्टी प्रहार गर्नकै लागि मैदानमा पठाइएका थिए। तर, त्यो योजना मुस्तफाले सफल हुन दिएनन्।

चार पटकको च्याम्पियन घानाले जिनेइ बिसाउमाथि २–० को जित निकाल्दै प्रतियोगिताको सुरुआत गर्दा समूह ‘एफ’ को शीर्ष स्थानमा रहेर टुंग्याएको थियो। पेनाल्टीमा घानाका मुबारक वाकसो र जोर्डन पिएरे एयुले गोल गर्दा तेस्रो नम्बरमा प्रहार गर्न आएका कालेबको प्रहार भने असफल रह्यो। लुमोर र एबेनयनुले गोल गर्दा ट्युिनसियाका लागि पाँचै जनाले गोल गरेपछि घानाले नतिजा सुम्पियो। बाजदी किच्रिडाको क्रसमा ताहा खनेसीले ७३औं मिनेटमा गोल गर्दै ट्यनिसियालाई सुरुआती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको इन्जुरी समयमा रामी बेदोइले आत्मघाती गोल गरेपछि घाना खेलमा फर्कियो। तर, त्यो अवसरलाई घानाले सदुपयोग गर्न सकेन। ट्युनिसियाले अब सेमिफाइनल प्रवेशका लागि फिफा वरीयताको १ सय आठौं नम्बरमा रहेको माडागास्करसँग कायरोमा प्रतिस्पर्धा गर्नेछ। यता, पहिलो पटक यो प्रतियोगिता खेलेको माडागास्करले पनि कंगोलाई पेनाल्टी सुटआउटमा हराउँदै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा स्थान बनाएको थियो।

माडागास्करले कंगोलाई पेनाल्टीमा ४–२ ले स्तब्ध बनाएको थियो। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। माडागास्करले दुवै पटक खेलमा अग्रता लिए पनि कंगो खेलमा फर्किएको थियो। नवौं मिनेटमा इब्राहिम आमादाले गोल गर्दै माडागास्करलाई अग्रता दिलाए। तर २१औं मिनेटमा सेड्रिक बाकाम्बुले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो। ७७औं मिनेटमा फानेभा एड्रियाटिस्माले गोल गरेर फेरि माडागास्करलाई अग्रता दिलाए। ९०औं मिनेटमा च्यान्सेल एबेम्बाले गोल गरेपछि खेल बराबरीमा पुग्यो। अतिरिक्त समयमा गोल हुन सकेन र खेल पेनाल्टीतर्पm धकेलिएको थियो। पेनाल्टीमा कंगोका टिसेरान्ड र बोलासीको प्रहार गोलमा परिणत नहुँदा माडागास्कारका चार खेलाडीले गोल गरेका थिए। अल्जेरिया पनि क्वार्टरफाइनलमा पुग्न सफल भएको छ। क्वार्टरफाइनलका अन्य खेलमा सेनेगल र बेनिन, आइभरी कोस्ट र अल्जेरिया तथा नाइजेरिया र दक्षिण अफ्रिका भिड्नेछन्। माडागास्करले कंगोलाई पेनाल्टीमा ४–२ ले स्तब्ध बनाएको थियो।

 

प्रकाशित: २५ असार २०७६ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App