२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

साहिन साह अफ्रिदीको उत्कृष्ट बलिङ

लर्ड्स  – पाकिस्तानका तीव्र गतिका बलर साहिन साह अफ्रिदी पछिल्ला समय निकै राम्रो लयमा देखिएका छन्। यस विश्वकपमा युवा बलर अफ्रिदीले ४ खेलमै १२ विकेट लिएका छन्।   निकै कम अवसर पाएका अफ्रिदीले यस विश्वकपमा पाकिस्तानको अन्तिम खेलमा पनि खेल्दैछन्। कम खेलबाटै पनि उनले आफूलाई प्रमाणित गर्न सफल भए। यस विश्वकपको आफ्ना चारै खेलमा अफ्रिदीले सफलता हात पार्दा पाकिस्तानी टोलीले बलिङमा उत्कृष्ट साथ पाइरहेको छ। १९ वर्षे तीव्र गतिका बलर अफ्रिदी हरेक पटक टोलीले दिएको जिम्मेवारीमा खरो उत्रिए छन्।

पाकिस्तानले शुक्रबार अन्तिम खेल बंगलादेश खेल्दै छ। उक्त खेलमा पाकिस्तानको तीव्र गतिको बलिङ जिम्मेवारी मोहम्मद आमिरसँगै उनीमा पनि थपिनेछ। पछिल्ला समय आमिरको बलिङ फिक्का साबित भइरहँदा अफ्रिदीमा बढि जिम्मेवारी रहनेछ। पछिल्ला खेलमा आमिर कम विकेट लिँदै महंगा साबित भइरहेका छन्। अफ्रिदीकै उत्कृष्ट प्रदर्शनप्रेरित पाकिस्तानले अपराजित बनिरहेको न्युजिल्यान्डलाई यस विश्वकपमा पहिलो हार चखाएको थियो।
उनको त्यो प्रदर्शन अफगानिस्तानसँग खेलमा पनि दोहोरियो। अफ्रिदीले आफ्नो उत्कृष्ट लय जारी राख्दा अफगानिस्तानको चार विकेट चट्काए। त्यस अघि न्युजिल्यान्डसँग पनि अफ्रिदीले महत्वपूर्ण तीन विकेट निकालेका थिए। त्यस क्रममा उनले न्युजिल्यान्डका ओपनर कोलिन मुनरोका साथै रोस टेलर र टम लाथमलाई सस्तैमा पवेलियनको बाटो देखाए।

१० ओभर बलिङ गरेका अफ्रिदीले तीन मेडन राख्दै २८ रन मात्र खर्चिंदा न्यजिल्यान्ड कम योगफलमा समेटिएको थियो। त्यसअघिका दुई खेलमा पनि उनले विकेट लिएका थिए। दक्षिण अफ्रिकाविरुद्ध उनले एक विकेट निकाल्दा पाकिस्तानले जित रच्यो। उक्त खेलमा डेविड मिलरलाई क्लिन बोल्ड गरेका अफ्रिदीले आठ ओभरमा ५४ रन खर्चिएका थिए। अस्ट्रेलियासँगको खेलमा १० ओभर बलिङ गरेका अफ्रिदीले २ विकेट लिएका थिए। उक्त खेलमा भने उनी महंगा साबित भए। इङ्ल्यान्ड र भारतसँगको खेलमा भने उनी टोलीमा पर्न असफल भए। श्रीलंकासँगको खेल भने वर्षाका कारण हुन सकेन।सन् २०१८ को एसिया कपमा अफगानिस्तानविरुद्धको डेब्यु खेलमै अफ्रिदीले दुई विकेट लिएका थिए।

यस बीच १८ एकदिवसीय क्रिकेट खेलेका अफ्रिदीले ३४ विकेट लिँदै आफूलाई उदीयमान बलरको रूपमा स्थापित गरेका छन्। शुक्रबार पनि बंगलादेशसँग अफ्रिदीले पुरानै लयलाई निरन्तरता दिँदै उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन्।

प्रकाशित: २० असार २०७६ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App