२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पुलिस र प्रदेश २ विजयी

काठमाडौं – समूह ‘बी’ का टोलीद्वय नेपाल पुलिस क्लब र प्रदेश २ ले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा जित निकाल्न सफल भएका छन्।

म्याट बिछ्याएर मूलपानीको मैदानमा खेलाइएको खेलमा विभागीय टोली नेपाल पुलिसले प्रदेश १ माथि ७५ रनको जित निकाल्न सफल भएको हो। यससँगै पुलिसले लगातार दोस्रो जित निकालेको छ। पुलिसले ४३.१ ओभरमा सबै विकेट गुमाए प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश १ ले ३८.३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय १० रन जोड्न सक्यो। जबाफी ब्याटिङ गरेको प्रदेश १ का लागि ओपनर सन्नी पुनले सर्वाधिक २७ रनको योगदान गरे पनि जितका लागि पर्याप्त भएन। यस्तै मनीष थापाले १८, दीपेश कँडेलले १५ तथा फिर्दोस अन्सारीले १२  रन जोड्नुबाहेक अन्य टोलीले दोहोरो अंकको स्कोर गर्न सकेनन्। प्रदेश १ लाई सस्तैमा समेट्न पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५ विकेट हात पार्दा ललितनारायण राजवंशीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १÷१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसका लागि अमित श्रेष्ठको शतक बनाए। १ सय १८ बलको सामना गरेका अमितले १५ चौका र १ छक्काको मद्दतमा १ सय ६ रन जोड्न सफल भए। यस्तै कुशल भुर्तेलले २४ रनको पारी खेल्दा अन्य ब्याट्सम्यानले गतिलो स्कोर गर्न सकेनन्।
पुलिसको सबै विकेट हात पार्न प्रदेश १ का कमल खत्री, फिर्दोस अन्सारी, पुष्प थापा, दीपेश कँडेल र सिद्धान्त लोहनीले समान २÷२ विकेट लिए।

जारी प्रतियोगितामा  दोस्रो जित निकालेको पुलिसले शनिबार त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित प्रदेश १ ले शुक्रबार कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। २ खेलबाट ४ अंक बनाएको पुलिस समूह ‘बी’ दोस्रो स्थानमा छ भने तीन खेलमा सबै जितसहित ६ अंक बनाएको आर्मी शीर्ष स्थानमा छ। प्रतियोगिताअन्तर्गत शुक्रबारै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा सम्पन्न अर्को खेलमा प्रदेश २ ले कर्णाली प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्न सफल भएको हो।

टस जितेपछि पहिला ब्याटिङ गरेको कर्णालीले ३०.४ ओभरमा सबै विकेट गुमाएर दिएको ९४ रनको लक्ष्य प्रदेश २ ले १६ ओभरमा केवल १ विकेट गुमाएर भेटाएको थियो। प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले अर्धशतक बनाए। ६४ बलको सामना गरेका हरिशंकरले ७ चौकाको मद्दतमा अविजित ५५ रनको इनिङ खेलेका हुन्। यस्तै हसिम अन्सारी १७ रन जोड्दै गर्दा प्रकाश जैसीको बलमा समातिए भने हरिशंकरलाई साथ दिएका रवि शाह १६ रनमा अविजित रहे। १५ बल सामना गरेका रविले १ छक्का प्रहार गरेका थिए।

यसअघि पहिला ब्याटिङ गर्दै सामान्य लक्ष्य प्रस्तुत गरेको कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ र रवीन्द्र शाहीले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर छुन सकेनन्। कर्णालीको इनिङलाई सस्तैमा समेट्न कुमार थापाले सर्वाधिक ३ विकेट लिए। यस्तै हरिशंकर शाह, संसद शेख र रासिद खानले समान २÷२ विकेट हात पार्दा दिवांशु मलिकले एक विकेट लिए।

यससँगै प्रदेश २ ले जारी प्रतियोगितामा पहिलो जित निकालेको छ। यसअघि प्रदेश २ आर्मीसँग १ सय ७१ रनले पराजित भएको थियो। पराजित कर्णाली प्रदेशले जारी प्रतियोगितामा लगातार तेस्रो पराजय भोगेको छ। प्रतियोगितामा बिहीबार एक खेल मात्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा हुनेछ।

प्रकाशित: १६ जेष्ठ २०७६ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App