सोलुखुम्बु - ६६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित तेन्जिङ हिलारी एभरेस्ट म्याराथनअन्तर्गत १७औं संस्करणमा पुरुषतर्फको उपाधि सोलुखुम्बुका सुमन कुलुङले हात पारेका छन्। उनले ४२ किलोमिटरको निर्धारित दूरी ३ घण्टा ४७ मिनेट १६ सेकेन्डमा पूरा गरेका थिए।
त्यस्तै, रुकुमका दुर्गाराज बुढा द्वितीय भए। उनले निर्धारित दूरी ३ घण्टा ५६ मिनेटमा पार गरे। रामकुमार राजभण्डारीले ३ घण्टा ५८ मिनेटमा दूरी पार गर्दै तृतीय भए।
बुधबार बिहान सगरमाथाको आधार शिविरबाट सुरु भएको म्याराथन गोरक्सेप, लोवुचे, थुक्ला, दिङवोचे, पाङवोचे, तेङवोचे क्याङेमा हुँदै नाम्चे बजारको चौरक्याम्पमा आएर समापन भएको हिमालय एक्सपिडिसनले जनाएको छ।
प्रकाशित: १६ जेष्ठ २०७६ ०२:१६ बिहीबार