११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

थ्री स्टारलाई रोक्दै आर्मी फाइनलमा

थ्री स्टार क्लबका खेलाडी (नीलो) र त्रिभुवन आर्मी क्लबका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिरः नागरिक

दमक - थ्री स्टार क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब बिहीबार मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। उपाधिका लागि आर्मीले नेपाल पुलिस क्लबको सामना गर्नेछ। 

खेलको २८औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे। सुमन अर्यालको क्रस पासमा श्रेष्ठले बललाई हेडमार्फत पोस्टको दिशा दिँदै टोलीका लागि गोलको खाता खोलेका थिए। ३९औं मिनेटमा श्रेष्ठले नै अर्काे गोल थपेका थिए। अर्यालको पासमा वान भर्सेस वान खेल्दै श्रेष्ठले गोल गरेका थिए।

पहिलो हाफको अन्त्यतिर थ्री स्टारका लागि विदेशी खेलाडी एलोन म्याक्सवेलले गोल गरे। अनन्त तामाङको पासमा म्याक्सवेलको गोल गरेका थिए। खेलको ५४औं मिनेटमा म्यासक्वेलले नै अर्काे गोल थप्दै खेल बराबरीमा ल्याए। सुनील बलको पासमा म्याक्सवेलले बललाई विपक्षी पोस्टको जाली चुमाएका थिए।

थ्री स्टारले बराबरी गरेको ७ मिनेट बित्न नपाउँदै आर्मीले फेरि अग्रता लियो। २–२ को बराबरीको अन्त्य गर्दै आर्मीका दीपकुमार लामाले गोल गरेका थिए। सेसेहाङ आङदेम्बेको पासमा लामाले गोल गरेका थिए।  सो गोल नै आर्मीको जितका लागि पर्याप्त भयो।

खेल अवधिभर आर्मीले विपक्षीमाथि दबाब सृजना गरेको थियो। आर्मीका सेसेहाङ आङदेम्बेले खेलको तेस्रो मिनेटमा डी एरियामा पाएको पासलाई सदुपयोग गर्न सकेनन्। १७औं मिटमा जितेन्द्र कार्कीले मैदानको मध्यभागबाट गरेको शक्तिशाली प्रहार पोस्टनजिकैबाट बाहिरियो। १७औं मिनेटमै थ्री स्टारका म्याक्सवेलको शक्तिशाली प्रहार पोस्टमा लागेर फर्कियो। २७आंै मिनेटमा विदेशी खेलाडी मन्साको फ्रि हेडर फितलो हुँदा आर्मीका गोलरक्षक विवश चौधरीले नियन्त्रणमा लिए। ३२औं मिनेटमा आर्मीका गोलरक्षक चौधरी बिट भइसकेको अवस्थामा सुशील राईले गरेको हेडरलाई आर्मीका दीपक गुरुङले गोललाइनबाट जोगाए।

४२औं मिनेटमा अनमार्क रहेका सेसेहाङ आङदेम्बेले गरेको प्रहारलाई थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले विफल बनाए। ४९औं मिनेटमा नवयुगको हेडर गोल हुन सकेन। खेलको म्यान अफ दी म्याच विजेता टोली त्रिभुवन आर्मीका नवयुग श्रेष्ठ घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए। गोल्डकपको चौथो सिजन चल्दै गर्दा तीन पटक त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको हो। आर्मीले विगतका दुई सिजनको उपाधि रक्षा गरिसकेको छ। फाइनल खेल शनिबार हुने आयोजक समितिले जनाएको छ।

प्रकाशित: २० वैशाख २०७६ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App