६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आर्मीको लगातार तेस्रो जित

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी क्विक्स नेपाल बास्केटबल लिगमा लगातार तेस्रो जित निकालेको छ। भद्रकालीस्थित आर्मीको घरेलु कोर्टमा बुधबार भएको तेस्रो खेलमा पाहुना टोली कीर्तिपुर बास्केटबल टिमलाई ७८–५८ को स्कोरले पराजित गर्दा जारी प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो।

जितसँगै आर्मीले लिगमा ६ अंक बनाउँदै शीर्षता कायम गर्न सफल भयो। खेलमा सुरुआतबाट नै विपक्षी दबाबमा राखेको आर्मीले पहिलो क्वार्टर २२–१५ ले जितेको थियो। दोस्रो क्वार्टरमा पनि उत्कृष्ट लयमा देखिएको आर्मी २४–१८ को जित निकाल्दा तेस्रो क्वार्टर १९–१३ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो।

अन्तिम क्वार्टरमा केही सुधारिएको खेल प्रस्तुत गरे पनि कीर्तिपुरले १३–१२ नतिजा सुम्पिँदा लगातारका तेस्रो खेलमा पनि पराजय भोग्न बाध्य बन्यो। आर्मीको जितमा सर्वाधिक २६ स्कोर गरेका रोविन खत्री म्यान अफ दी म्याच घोषित भए। लगातार तेस्रो पराजय भोगेको कीर्तिपुर तालिकामा अंकविहीन बनेको छ।

बुधबारै सम्पन्न अर्को खेल भने मौसमका कारण रोकियो। चौथो क्वार्टरको ४ मिनेट १० सेकेन्ड चल्दै गर्दा हावाहुरी चलेसँगै खेल रोकिएको हो। अन्तिम क्वार्टर चलिरहँदा टाइम्सले ५४–३७ को अग्रता बनाएको थियो। बाँकी समयको खेल आइतबार हुनेछ।

लिगमा टाइम्सले सम्पन्न दुई खेलमध्ये सबैमा जित निकालेको छ भने गोल्डेन गेटले दुईमध्ये एक खेलमा जित निकालेको छ।
प्रतियोगितामा बिहीबार साउथ साइडर्स बास्केटबलले कीर्तिपुर बास्केटबल टिमलाई आतिथ्य गर्नेछ।

प्रकाशित: १९ वैशाख २०७६ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App