३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

एपिएफ सेमिफाइनलमा

बलका लागि प्रतिस्पर्धा गर्दै एपिएफ (सेतो) र फ्रन्ड्सका खेलाडी।

काठमाडौं – सशस्त्र प्रहरीको एपिएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरि रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ।

चन्द्रागिरिस्थित नैकाप फुटबल मैदानमा सोमबार भएको खेलमा एपिएफले एनआइबिएल फ्रेन्ड्स् क्लबलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो। एपिएफको जितमा प्रविन स्याङ्तान र आशिष लामाले गोल गरे।

निकै नै प्रतिस्पर्धात्मक खेलको सुरुआती अग्रता एपिएफले लिएको थियो। खेलको ३०औं मिनेटमा प्रविन स्याङ्तानले पेनाल्टी एरियाभन्दा ठीक बाहिरबाट गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए। तर, एपिएको त्यो अग्रता ३ मिनेट पनि टिकेन। फ्रेन्ड्सका विकास लामाले ३३औं मिनेटमा एक गोल फर्काउँदै खेल बराबरीमा ल्याए। डिफेन्डर सन्तोष कटुवालको गल्तीको फाइदा उठाउँदै विकासले सहजै गोल गरेका थिए। 

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको दोस्रो हाफको इन्जुरी समयमा आशिष लामाले गोल गर्दै एपिएफलाई २–१ को जित दिलाए। प्राविधिक कारणले खेल ४०–४० मिनेट र अतिरिक्त समय १०–१० मिनेट खेलाइएको थियो।

एपिएफका आशिष लामा  म्यान अफ दी म्याच भए। उनले  ५ हजार रुपैयाँ प्राप्त गरे। दीपशिखा युवा समूहको आयोजनामा भएको प्रतियोगितामा मंगलबार आयोजक दीपशिखा युवा समूह र ‘ए’ डिभिजन क्लब सरस्वती युवा क्लबबीच  खेल हुनेछ। प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: १७ वैशाख २०७६ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App