५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

निर्मलाको त्यो तस्बिर

आफुले बनाएको निर्मला पन्तको तस्बिरसँग बरुणबाबु घिमिरे। तस्बिरः सविता/नागरिक

चितवन - कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दश महिना पुग्न लाग्यो। गएको साउन महिना भएको घटनापछि दोषीलाई कारबाही र न्यायको माग राख्दै देशैभर विरोध कार्यक्रमहरू भए। निर्मलाका अभिभावक न्यायका लागि अनसनसमेत बसे। त्यही समय बुबा यज्ञराजलाई उपचारका लागि काठमाडौं लगियो। छोरीको हत्यारा र दोषीलाई कारबाही गर्न लडिरहेका उनलाई उपचार गर्न काठमाडौं ल्याउँदाको दृश्य त्यो समयमा भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरका बरुणबाबु घिमिरले टेलिभिजनमा हेरिरहेका थिए।

पेशाले चित्रकार बरुणलाई त्यो दृश्यले निकै छोयो। उनले त्यो दृश्यलाई जल रंगमार्फत चित्रमा उतारे। ‘निर्मलाको बाबा बिरामी भएर काठमाडौं लैजादै गरेको समाचार टेलिभिजनमा हेरेँ’, उनले भने, ‘त्यसको भोलिपल्ट नै चित्र कोरेँ।’

न्यायको लागि गरिएको लामो लडाइँको त्यो घटनाले उनको मन विचलित बनाएको थियो। चित्र कोरेपछि उनलाई फरक आत्मसन्तुष्टि मिल्यो। गएको मंसीर २५ गते उनले त्यो चित्र तयार गरेका थिए। चित्र पुरा गरिसकेपछि सामाजिक सञ्जालमा शेयर गरे। तत्कालै त्यो तस्बिर धेरैजनाले शेयर गरें। सयौंले फेसबुकमा प्रोफाइल तस्बिर पनि बनाए।

बाबुको तस्बिरमा केही चहकिलो रङ प्रयोग गरेका छन्। निर्मलाको मृत्यु भइसकेकाले उनलाई स्वर्गमा रहेको आभाष गराउन छायाँमा तस्बिर बनाईएको छ।


अझै पनि केहीको प्रोफाइल तस्बिर उनले बनाएको तस्बिर नै रहेको छ। यो नै धेरै शेयर र धेरैले मन पराएको तस्बिर बनेको घिमिरे बताउँछन्। तस्बिरमा उनले निर्मलासँगै बाबु यज्ञराजको तस्बिर बनाएका छन्। निर्मलाको तस्बिरलाई उनले हल्का निलो रङमा उतारेका छन्। बाबुको तस्बिरमा केही चहकिलो रङ प्रयोग गरेका छन्। निर्मलाको मृत्यु भइसकेकाले उनलाई स्वर्गमा रहेको आभाष गराउन छायाँमा तस्बिर बनाईएको छ। सँगै चरा उडिरहेको चित्र पनि छ।

बरुण पनि छोरीको बाबु हुन्। उनको छोरी शैली ९ वर्षकी भईन्। आफु पनि बाबु भएकाले निर्मलाको बाबाको अनुहारमा झल्किएको वेदनाले आफुलाई छोएको उनी बताउँछन्। त्यसैले उनले त्यो तस्बिरमा बाबुको वेदनालाई देखाउन खोजे। ‘त्यो बेला मलाई निर्मलामाथि भएको घटना र उनको बाबाको अवस्थाले मन भित्र नै छोयो’, उनी भन्छन्, ‘मनलाई छोएर निस्कने तस्बिर पुरा हुँदा मज्जा आउँछ।’ २२ वर्षे चित्रकारिताको यात्रामा त्यो तस्बिरको जत्ति धेरै चर्चा अरुको नभएको उनी बताउँछन्।

यो तस्बिर उनको वर्कसपमा नै छ। दिनहुँ तस्विरसँग उनको भेट हुन्छ। त्यो तस्बिर बनाउँदा जत्ति मज्जा आएको थियो। दिनहुँ तस्बिर हेर्दा उत्तिकै नमज्जा उनलाई लाग्छ। अहिलेसम्म घटनाको दोषी पत्ता लाग्न नसक्नु र न्याय नहुँदा नरमाइलो लाग्ने उनी बताउँछन्। भन्छन्, ‘घटनामा पीडितले न्याय पाएदेखि मैले बनाएको चित्रले पनि सार्थकता पाउँथ्यो।’

प्रकाशित: १५ वैशाख २०७६ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App