लन्डन – म्यानचेस्टर डर्बीमा बुधबार म्यानचेस्टर युनाइटेडमाथि सहज जित हात पारेसँगै म्यानचेस्टर सिटीका लोरी सानेले यस नतिजाले इङ्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्यका लागि मनोबल बढेको प्रतिक्रिया दिएका छन्।
सिटीले युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा २–० को जित हात पारेको हो। प्रिमियर लिगको पछिल्लो ११ खेलमा हात पारेको लगातारको सुखद नतिजापछि सिटी शीर्ष स्थानमा फर्किएको हो। प्रिमियर लिगमा सिटी र लिभरपुलले समान ३ खेल खेल्न बाँकी छ। सिटी ३५ खेलमा ८९ अंकका साथ शीर्ष स्थानमा फर्किएको हो। जो समान खेल खेलेको लिभरपुलभन्दा मात्र १ अंक बढी हो। टोटेनह्याम ७० अंकका साथ तेस्रो, चेल्सी ६७ अंकका साथ चौथो र ६६ अंक जोडेको आर्सनल पाँचौं स्थानमा छन्। युनाइटेड भने ६४ अंकका साथ छैटौं स्थानमा छ।
प्रिमियर लिगको पछिल्लो एक दशकमा लिग उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने लक्ष्यमा रहेको सिटीलाई म्यानचेस्टर डर्बी कठिन रूपमा हेरिएको थियो। ‘सिजनको अन्तिम डर्बी, अनि त्यसमा सुखद नतिजा। यसले हाम्रो प्रिमियर लिग उपाधि रक्षा अभियानमा आत्मविश्वास बढाएको छ,’ दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै टोलीका लागि दोस्रो गोल गरेका सानेले भने, ‘हामी सबै निरन्तर सुखद नतिजा ल्याउन चाहन्छांै। यस जितले हामी सबैमा उत्साह बढाएको छ। डर्बी जित सधैं विशेष हुने गर्दछ।’
सानेले उपाधि अझै पक्का नभइसकेकाले संयम भएर खेल्नुपर्ने बताए। सिटीले आइतबार प्रिमियर लिगमा बर्नलीको सामना गर्दै छ। ‘हामी सिजनभर गरेको उत्कृष्ट प्रदर्शनबाट यहाँसम्म आइपुगेका हांै र सोही लयमा केन्द्रित हुन आवश्यक छ,’ सानेले भने, ‘हामीले आजको जितबाट हौसिनुभन्दा पनि बर्नलीविरुद्धको खेलमा केन्द्रित हुन आवश्यक छ। सिजनको अन्तिम ३ खेल त्यति सहज पक्कै हुनेछैन।’
पेप ग्वार्डिओलाको टोलीले निरन्तर युनाइटेडलाई दबाबमा राखे पनि गोल खाता खोल्न भने दोस्रो हाफसम्म कुर्नुपरेको थियो। ५४औं मिनेटमा बर्नाडो सिल्भाको गोलमा सिटी खेलमा अघि बढेको थियो। त्यसको १२ मिनेटपछि सानेले सिटीको अग्रता दोब्बर पारे।
बुधबारै भएको खेलमा पाँचौं स्थानको आर्सनल उल्भरह्यामटनसँग २–० ले पराजित भएसँगै युनाइटेडको शीर्ष ४ मा बस्दै अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने गणितीय सम्भावना भने जीवितै छ। युनाइटेडले आइतबार चौथो स्थानको चेल्सीको सामना गर्दै छ।
‘हामीलाई के गल्ती भैरहेको छ भन्ने थाहा छ। हामी मानसिक दबाबका साथ मैदान उत्रियौ र टोलीमा जितको कुनै भोक देखिएन,’ युनाइटेडका स्ट्राइकर मार्कुस रसफोर्डले भने, ‘हामीले अहिले शीर्ष ४ र च्याम्पियन्स लिगमा केन्द्रित हुन आवश्यक छैन।’
जितसँगै सिटी ३५ खेलमा ८९ अंकका साथ शीर्ष स्थानमा फर्किएको छ। जो समान खेल खेलेको लिभरपुलभन्दा मात्र १ अंक बढी हो।
प्रकाशित: १३ वैशाख २०७६ ०२:२० शुक्रबार