२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

मापदण्डविपरीत बन्यो पौडी पोखरी

बाँके - नेपालगन्ज रंगशाला परिसरमा स्विमिङ कम्प्लेक्स बन्न लागेको झन्डै एक दशक भयो। अहिलेको अवस्थासम्म आइपुग्न नेपाल सरकारले १४ करोड २८ लाख रकम पोखरी निर्माणमा खर्च गरिसकेको छ। तर दशक बित्दा पोखरी खेल्न योग्य भइसकेको छैन।

पूर्वाधार निर्माण हुन दशक कुरे पनि नेपालगन्जको पौडी पोखरी मापदण्डअनुसार बनेको छैन। जसका कारण पोखरीले अन्तर्राष्ट्रिय स्तरको मान्यता पाउने छैन। विश्व पौडी महासंघ(फिना)को नियमअनुसार पोखरीको लम्बाइ ५० मिटर हुनुपर्छ। प्राविधिक रूपमा २ देखि ३ सेन्टमिटर कम वा बढी भए पनि मान्यता दिने गरेको नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले बताए। तर नेपालगन्जमा बनेको पोखरी १८ सेन्टिमिटर लम्बाइ कम छ। जसले अब नेपालगन्जमा ‘सर्ट कोर्स’ प्रतियोगिता मात्र गर्न सकिनेछ।

सुरुआतमा नेपालगन्जमा निर्माण गरिएको पौडी पोखरी अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना थियो। निर्माण गर्ने क्रममा ६ इन्च लम्बाइ कम हुँदा पौडी पोखरीले विश्व पौडी महासंघ(फिना)को तोकेको मापदण्ड पूरा गर्न सकेन। मापदण्डविपरीत पोखरी निर्माण भएपछि त्यसको जिम्मेवारी कसले लिने भन्ने विवाद उत्पन्न भएको छ।

राखेप सदस्यसचिव केशवकुमार विष्ट मापदण्डविपरीत पौडी पोखरी बनेको जिम्मेवारी पौडी संघले लिनुपर्ने बताउँछन्। उनले भने, ‘हामीले पटकपटक संघलाई पूर्वाधार निरीक्षण गर्न पठाएका छौं। उहाँहरूको सहभागितामा पोखरी बनेको हो। मैले एक दर्जन पटक संघका पदाधिकारीलाई नेपालगन्ज पठाएको छु।’ तर विष्टको भनाइमा सहमत छैनन् नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ। ‘अब त काठमाडौंमा बन्न लागेको पोखरी पनि बिग्रने हो भन्ने डर लागिसक्यो। राखेपले पोखरी निर्माण गर्दा संघको प्रतिनिधिबिना गरायो। हामीले निर्माण समितिमा संघको प्रतिनिधि राख्न पत्रचार पनि गरेको थियौं । तर राखेपले मानेन,’ श्रेष्ठले भने, ‘राखेपका प्राविधिकको गल्तीले समस्या उत्पन्न भएको हो। पोखरीको लम्बाइ बिग्रिसकेपछि राखेपले संघलाई निरीक्षण गर्न पठाएको हो। पोखरी बनिसकेपछि हामीलाई पानी हाल्न पठाएर के अर्थ ?’

पछिल्लो पटक नेपाल सरकारले २०७४ सालमा पौडी पोखरीको सम्पूर्ण कार्य पूरा गर्ने गरी १४ करोड २८ लाखमा तीन कम्पनी सुनकोसी, ड्रागन र वल्र्ड वाइडललाई संयुक्त रूपमा ठेक्का दिएको थियो। नेपालगन्जमा बनेको कम्प्लेक्सको सम्पूर्ण क्षेत्र ५९७२.४०४ स्क्वायर मिटर छ, त्यसमा पौडी पोखरीको क्षेत्र १२५० स्क्वायर मिटर छ। जहाँ ६९० स्क्वायर मिटरमा ५ सय ३० दर्शक अटाउन सक्ने राखेपका प्राविधिक बताउँछन्।
कीर्तिमान धेरै बन्न सक्छन्

नेपालगन्जमा भैरहेको पौडी प्रतियोगिता सट कोर्समा भइरहेको छ। यसअघि नेपालमा एक पटक मात्र सट कोर्स (२५) मिटरमा प्रतियोगिता भएको थियो। त्यस कारण यसपालि धेरै रेकर्ड बन्ने सम्भावना छ। पौडीमा सट कोर्स (२५ मिटर) र लङ कोर्स (५०) मिटरमा फरक प्रतियोगिता विश्वव्यापी रूपमा हुने गर्छ। सट र लङ कोर्सका छुट्टाछुटटै विश्व च्याम्पियनसिप पनि हुने गर्छन्। दुवै विधाको रेकर्ड पनि फरकफरक रूपमा राख्ने गरिन्छ। नेपालगन्जमा निर्माणाधीन पोखरीमा पानी भर्ने काम समयमा नसकिएकाले होटलको सट कोर्समा गर्नुपरेको हो। पोखरीमा पानी चुहिएका कारण समयमा भर्न नसकिएकोे संघले बतायो।

राखेपले केही दिन प्रतियोगिता सार्न पौडी संघलाई अनुरोध गरेको थियो। खेलाडी सबै नेपालगन्ज आइसकेकाले सार्न नसकिने भन्दै संघले अडान लिएपछि प्रतियोगिता निर्धारित समयमा गरिएको संघका अध्यक्ष अशोकरत्न वज्राचार्यले नागरिकलाई जानकारी गराए। यसपालि नेपालमा हुने भनिएको १३औं सागमा पनि सट कोर्समै प्रतिस्पर्धा हुनेछ। सागमा सट कोर्समा प्रतिस्पर्धा गराइन लागेको यो पहिलो पटक हो। डिसेम्बरमा नेपालमा मौसम चिसो हुने भएकाले हिटिड सिस्टमको पौडी पोखरी चाहिने र सातदोबाटोमा निर्माणाधीन हिटिड सिस्टमको पोखरीमा सट कोर्सको मात्र प्रतिस्पर्धा गराउन सकिन्छ।

प्रकाशित: ९ वैशाख २०७६ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App