सिन्धुपाल्चोक - रानीपोखरी कर्नर टिम (आरसिटी) तोप–२१ दोस्रो चौतारा साँगाचोकगढी मेयर कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।
बी डिभिजन विजेता आरसीटीले उपविजेता भगवती क्लब टोखालाई सोमबार ३–१ कोे गोलअन्तरले स्तब्ध पार्दै फाइलन यात्रा तय गरेको हो। चौताराको टुँडिखेलमा भएको पहिलो सेमिफाइलन खेलमा मध्यान्तरअघि एक गोलको अग्रता बनाएको आरसिटीले दोस्रो हाफमा दुई गोल थप्यो। बलमा पकड जमाएको भगवतीले खेलको अन्तिमतिर सान्त्वना गोल फर्काउन सक्यो।
विपक्षी रक्षकको गल्तीको फाइदा उठाउँदै विदेशी खेलाडी कउसी जेडीको गोलबाट आरसिटीले खेलको २० औँ मिनेटमा अग्रता लियो। कसिलो प्रदर्शनका बाबजुद फिनिसिङमा चुक्दा भगवतीले मध्यान्तरअघि नै बराबरी गोल गर्ने पाँच अवसर गुमायो। मध्यान्तरपछि सुधारिएको प्रदर्शन गर्दै आरसिटीले ६१ औँ मिनेटमा अग्रता दोब्बर बनायो।
दोस्रो गोल गरेको दुई मिनेट नबित्दै नवराज गुरुङले तेस्रो गोल गर्दै जितको आधार खडा गरे। विदेशी खेलाडी कउसीको असिस्टमा उनले विपक्षी गोलरक्षकलाई छक्काउँदै गोल गरेका थिए। खेलको ६६ औँ मिनेटमा भगवतीले पेनाल्टीमार्फत गोलअन्तर घटाउने मौका पाएको थियो। तर सदुपयोग गर्न सकेन।
खेलको ८३ औँ मिनेटमा भगवतीका कफ्र्यू रसाईँलीले गोल गर्दै अन्तर घटाए। उपाधिका लागि आरसिटीले ए डिभिजन क्लब त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलबीच मंगलबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग फाइलन खेल्ने छ।
प्रकाशित: २५ चैत्र २०७५ १४:२९ सोमबार