खोटाङ – आगामी चैत २३ देखि खोटाङको पुरानो र प्रतिष्ठित बाक्सिला गोल्डकप हुने भएको छ। ११ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा बुइपा एलेभेन स्पोटर्स क्लब र सोल्मा स्पोर्ट्स क्लबबीचमा पहिलो खेल हुने बाक्सिला फुटबल क्लबका अध्यक्ष शिवकुमार राईले बताए।
केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा सञ्चालन हुने प्रतियोगितामा टेम्मा स्पोटर्स क्लब टेम्मा र बाम्राङ युवा स्पोटर्स क्लब बाम्राङ तथा हलेसी फुटबल क्लब र खोटाङ भगवती स्पोर्ट्स क्लबबीचमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
मोफसलमा फुटबलको व्यावसायिक विकासका लागि विगत १४ वर्षअघि सुरु गरिएको बाक्सिला गोल्डकपमा खारम्बु स्पोर्ट्स क्लब खार्मी, बाक्सिला फुटबल क्लब बाक्सिला, खोटाङ फुटबल एकेडेमी दिक्तेल, जन्तेढुंगा गाउँपालिका र केपीलासगढी गाउँपालिकाले बाइ पाएको आयोजकले जनाएको छ।
जिल्लाकै पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगीताको परिचय बनाएको बाक्सिला गोल्डकपको दशौं संस्करणका विजेतालाई नगद १ लाख ५५ हजार ५ सय १०, उपविजेतालाई नगद ७५ हजार १० तथा सेमिफाइनल पुग्ने टोलीलाई नगद १५–१५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताए।
यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, किपर, हाइस्कोरर र अनुशासित टोलीलाई पनि ५÷५ हजार पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
प्रकाशित: १७ चैत्र २०७५ ०४:२९ आइतबार