१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खेलाडी चोटमुक्त हुँदा अस्ट्रेलिया उत्साही

सिड्नी – एकदिवसीय विश्वकप क्रिकेट उपाधि रक्षाको अभियानामा रहेको अस्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्क र जस हाज्लेउड चोटमुक्त हुँदै अभ्यासमा फर्किने संकेत गरेसँगै उत्साही बनेको छ।

हाज्लेउड जनवरीमा ढाडको समस्याका कारण टोलीबाट बाहिरिएका थिए भने स्टार्कले मांसपेशीको समस्याका कारण भारत भ्रमणबाट आफ्नो नाम फिर्ता लिएका थिए।

‘विश्वकपका लागि टोली घोषणा हुने बेलासम्म म ६५–७० प्रतिशत फिट भइसक्ने छु र मसँग पूर्ण रूपमा फिट हुँदै एकदिवसीय क्रिकेटमा फर्कन त्यसपछि थप ४ वा ५ हप्ताको समय बाँकी हुन्छ,’ हाज्लेउडलाई उद्धृत यर्दै क्रिकेट अस्ट्रेलियाले उल्लेख गरेको छ।

अस्ट्रेलियाले अप्रिल २३ मा विश्वकपका लागि टोली घोषणा गर्ने बताएको छ। प्रतियोगिता भने मे ३० बाट मात्र इङ्ल्यान्डमा सुरु हुनेछ। टोलीले मेको पहिलो साताबाट ब्रिसबेनमा अभ्यास सुरु गर्नेछ, जहाँ टोलीले न्युजिल्यान्डविरुद्ध केही अभ्यास खेल खेल्नेछ।

‘म टोली घोषणा गर्ने समयसम्म पूर्ण रूपमा फिट हुन्छु जस्तो लाग्दैन तर विश्वकपअघिको अभ्यास भ्रमणसम्ममा भने म फिट हुनेमा विश्वस्त छु,’ हाज्लेउडले भने। 

अस्ट्रेलियाले २०१५ मा विश्वकपको उपाधि जित्दा स्टार्क प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। उनी पनि विश्वकपअघि टोलीमा फर्कनेमा क्रिकेट अस्ट्रेलिया विश्वस्त छ। स्टार्क फेब्रुअरीमा श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा घाइते हुँदै टोलीबाट बाहिरिएका थिए।

‘स्टार्क फिट देखिन्छन् र उनले यसै साता अभ्यास पनि थालिसकेका छन्,’ हाज्लेउडले भने, ‘उनी केही महिनापछि नै चोटमुक्त हँुदै अभ्यासमा फर्किएका हुन्। त्यसैले उनले छिट्टै  स्वाभाविक लय भेट्टाउनेमा हामी आशावादी छौं।’

प्रकाशित: १५ चैत्र २०७५ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App