१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफलाई रोक्दै दाउफिन्स सेमिफाइनलमा

दाउफिन्स फुटबल क्लबका खेलाडी (पहेंलो)लाई छक्याउँदै बल अघि बढाउने क्रममा एपिएफका हरि कार्की। तस्बिरः अशोकसुजन- नागरिक

मकवानपुर- सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले पराजित गर्दै क्यामरुनको दाउफिन्स फुटबल क्लब आइतबार हेटौंडामा जारी भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। हेटौंडा १० स्थित वनविज्ञान अध्ययन संस्थानको चौरमा भएको खेलमा यानिक ओहानाले दाउफिन्सका लागि निर्णायक गोल गरे। नगामा अन्गोउलाको कप्तानीमा मैदान उत्रिएको दाउफिन्सका लागि ओहानाले खेलको ७९औं मिनेटमा सानदार गोल गरेका थिए। 

दाउफिन्सका खेलाडीले एपिएफको गोलपोस्ट नजिकै दिएको पासलाई ओहानाले प्रहार गर्दा एपिएफका गोलकिपरले रोक्न सकेनन्। खेलमा दाउफिन्सका लागि निर्णायक गोल गर्ने ओहाना म्यान अफ दी म्याच घोषित  भए। उनले नगद दश हजार र ट्रफी पाए। उता एपिएफका खेलाडीले गोल गर्ने कयाैं प्रयास गरे पनि दाउफिन्सका खेलाडीले असफल पारे। त्यस्तै खेलअवधिभर राम्रो प्रदर्शन गरेको दाउफिन्सका खेलाडीहरूले पनि धेरै पटक प्रयास गरे पनि बललाई जाली चुमाउन सकेनन्।
सेमिफाइनलमा दाउफिन्सले थ्री स्टार क्लब र सरस्वती युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। प्रतियोगिताअन्तर्गत सोमबार समूह ‘ए’ को नेपाल आर्मीविरुद्ध  पुलिसले सेमिफाइनलका लागि भिड्नेछ। आर्मी बाई पाएर क्वाटरफाइनलमा पुगेको हो। सडनडेथमा च्यासल युथ क्लबलाई पराजित गर्दै पुलिसले क्वार्टरफाइनलको यात्रा तय गरेको हो।
प्रतियोगिताको विजेताले ८ लाख, उपविजेताले ४ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछन्।

प्रकाशित: ११ चैत्र २०७५ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App