२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

रोजर फेडेररद्वारा १०० औं उपाधि पूरा

काठमाडौं – स्विस स्टार रोजर फेडेररले आफ्नो टेनिस करियरमा अर्को कोसेढुंगा पार गरेका छन्। दुबई ओपन टेनिसको फाइनलमा ग्रिसका स्टेफानोस सिट्सिपासलाई पराजित गर्दै फेडेररले १०० औं एटिपी टुर उपाधि पूरा गरे।

३७ वर्षीय फेडेररले कीर्तिमानी आठौं पटक दुबई च्याम्पियन्ससिपको उपाधि जित्ने क्रममा २० वर्षीय सिट्सिपासलाई २–० को सोझो सेटमा हराए। विश्व वरियताको ७ औं स्थानमा रहेका फेडेररले सिट्सिपासलाई सहज रुपमा ६–४, ६–४ ले पाखा लगाए। उनले जम्मा ६९ मिनेट समय कोर्टमा बिताएका थिए।

१०० औं उपाधि जित्ने फेडेरर अमेरिकाका जिम्मी कोन्नोर्सपछि केबल दोस्रो खेलाडी हुन्। उनले सन् १९८३ मा यो कोसेढुंगा पार गरेका थिए। उमेरका कारण फेडेररले जिम्मीको कीर्तिमान तोड्ने सम्भावना भने न्यून रहेको छ। सर्वाधिक उपाधि जित्ने कीर्तिमान भने १२४ उपाधि सहित चेक रिपब्लीककी मार्टीनाको नाममा रहेको छ।

२० पटकका ग्राण्डस्लाम च्याम्पियन्स फेडेररले पहिलो एटिपी उपाधि जितेको ६ हजार ६ सय दिनपछि यो सफलता हात पारेका हुन्। उनले पहिलो पटक सन् २००१ फेब्रुअरी ४ मा मिलान इन्डोर्स उपाधि जितेका थिए। फेडेरर पुरुषतर्फ सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने खेलाडी हुन्।

फेडेररका लागि सबैभन्दा सफल प्रतियोगिता बासेल र हल्ले ओपन हो। जहाँ उनले ९–९ उपाधि जितेका छन् भने विम्बल्डन च्यामिपयनसिप र दुबई ओपन फेडेररले ८–८ पटक जितेका छन्। यस्तै सिनसिनाटी मास्टर्स ७ पटक जितेका छन्। उनले ६ पटक अष्ट्रेलियन ओपन, ५ पटक युएस ओपन र १ पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्।

फेडेररले १०० मध्ये ५० वटा उपाधि युरोपमा जितेका छन् भने २४ वटा उत्तर अमेरिकामा, १८ वटा एसियामा र ८ अष्ट्रेलियामा जितेका छन्।

 

प्रकाशित: १९ फाल्गुन २०७५ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App