१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित

काठमाडौं – आइसीसी महिला ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ५७ रनको फराकिलो अन्तरले पराजित भएको छ।

थाइल्याण्डले जितका लागि दिएको १ सय २५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपाल २० ओभरमा ७ विकेटको क्षतिमा ६७ रनमा समेटियो। नेपालका लागि इन्दु बर्माले सर्वाधिक २९ र सीताराना मगरले १८ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहारो रन छुन सकेनन्। ४४ बलको सामना गरेकी बर्माले १ चौंका प्रहार गर्दा मगरले ३४ बलमा १ चौंका हिर्काइन्।

त्यस्तै ममता चौधरीले ५, कप्तान रुविना क्षेत्री र करुण भण्डारीले समान ३, नेरी थापाले २ तथा काजल श्रेष्ठ, रोमा थापा र सरिता मगरले समान १–१ रन जोडिन्। नेपाललाई सस्तैमा समेटन थाइल्याण्डका लागि सोरनार टिप्पोचले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन्। त्यस्तै नाट्या बुचाथम, सुलेपोर्न लाओमी र चानिदा सुथिरुंगले समान १–१ विकेट लिए।

यसअघि एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले पूरै २० ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १ सय २४ रन बनाएको थियो। थाइल्याण्डका लागि चानिदा सुथिरुंगले सर्वाधिक ३५ रन बनाइन्। उनले २९ बलमा ३ चौका प्रहार गरेकी थिइन्।

त्यस्तै नरुमोल चाइवाइले २७ बलमा ३ चौंकाको मद्दतमा ३२, वोन्गपका लिंगप्रेसर्टले २७ बलमा २८ र नाट्या बुचाथमले १२ रनको योगदान दिइन्। थाइल्याण्डका ५ खेलाडीले दोहोरो रनको स्कोर कटाउन सकेनन्। नेपालका लागि नेरी थापाले ४ ओभरमा १५ रन खर्चेर २ तथा कविता कुवँरले ४ ओभरमा २८ रन खचेर समान २ विकेट लिए।

त्यस्तै भण्डारी र कप्तान रुविना क्षेत्रीले समान १–१ विकेट लिए। नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दा थाइल्याण्डले पनि चीनलाई ६ विकेटले पराजित गरेको थियो।

थाइल्याण्डले गत महिना महिला टि–२० स्म्यास प्रतियोगितामा नेपाललाई ९ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो। राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

प्रकाशित: ९ फाल्गुन २०७५ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App