१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

स्यान्टु र नविता च्याम्पियन

काठमाडौं – नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ दोस्रो सम्झना कप राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सिंगल्सको पुरुषमा स्यान्टु र महिलामा नविता च्याम्पियन भएका हुन्। राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा स्यान्टुले आफ्नै क्लबका विनेश खनियाँलाई ११–६, १३–११, ११–५ र ११–६ को सोझो सेटमा पराजित गरे।

नेपाल आर्मीका कृष्ण थापामगरले एपिएफका सुनील महर्जनलाई ४–१ ले हराउँदै तेस्रो स्थान प्राप्त गरे। ललितपुर जिल्ला टेबल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला उपाधि भिडन्तमा नविताले आर्मीकी दीक्षा तामाङको चुनौती ११–३, ११–७, ११–८ र ११–६ को सीधा सेटमा समाप्त पारिन्।

आर्मीकी स्वेच्छा नेम्वाङले आर्मीकै रविना महर्जनलाई ४–२ ले निराश पार्दै तेस्रो भइन्। दुवै सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सयका दर नगद पुरस्कार पाए। यस प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले आगामी अप्रिल २१–२८ सम्म हंगेरीको बुढापेस्टमा हुने विश्व च्याम्पियनसिपमा खेल्न पाउनेछन्।

विजेतालाई प्रतिनिधि सभाका सांसद् जीवनराम श्रेष्ठ, कलाकार मदनकृष्ण श्रेष्ठ, अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, टेबल टेनिसका मुख्य प्रशिक्षक विनोद शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा विभिन्न १० स्पर्धामा ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २३ माघ २०७५ ००:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App