१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

त्रिभुवन आर्मीलाई मदन भण्डारी गोल्डकप

उपाधिका साथमा आर्मीका खेलाडीहरू । तस्बिर : नागरिक

इटहरी –  दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। इटहरी रंगशालामा भएको फाइनलमा शनिबार लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। जितसँगै आर्मीले नगद १६ लाख रुपैयाँ प्राप्त गरेको छ।

मनाङविरुद्ध आर्मीले पहिलो हाफको छैटौं मिनेटमै गोल गर्‍यो। आर्मीका लागि पहिलो गोल टंक बस्नेतले गरे। उनले कर्नरबाट आएको बललाई डी बक्सबाहिरबाट गोल गरेका  थिए। पहिलो हाफमा आर्मीले १–० को अग्रता लियो। दोस्रो हाफको अन्तिम समयमा आर्मीका कप्तान भरत खवासले एकल प्रयासमा  अर्को गोल थपे। खवासले मैदानको दाहिने कुनामा पाएको पासलाई वान भर्सेस वानमा गोल गरे।

यसअघि खेलको ७०औं मिनेटमा अफिज ओलावालेले रातो कार्ड पाएपछि मनाङ १० खेलाडीमा सीमित भयो। ओलावालेले डी बक्सभित्र आर्मीका गोलकिपर विकेश कुथुलाई फल गरेपछि रातो कार्ड पाएका थिए। जसले गर्दा मनाङले लय मिलाएर खेल्न सकेन।

उपविजेता मनाङले आठ लाख नगद पुरस्कारमा चित्त बुझायो । गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी आर्मीका टंक बस्नेतलाई ४२ इन्चको टिभीसहित नगद २५ हजार प्रदान गरियो। यस्तै सर्वाधिक गोलकर्ता आर्मीका भरत खवासले नगद २५ हजार पाए। म्यान अफ दी फाइनल आर्मीका विमल पाण्डेले १० हजार पाए।

गोल्डकपमा सर्वोत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, सर्वाेत्कृष्ट डिफेन्डर मनाङका सुरज विक, सर्वाेत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ, सर्वाेत्कृष्ट फरवार्ड आर्मीका भरत खवास र सर्वाेत्कृष्ट प्रशिक्षक आर्मीकै चुमबहादुर थापा भए। सबैलाई जनही २०/२० हजारसँगै पदक प्रदान गरियो।

गोल्डकपमा आयोजक राष्ट्रिय जागृति क्लबका उमेश राईलाई उदीयमान खेलाडी घोषित गरी २४ इन्चको भिटी र पदक प्रदान गरियो। खेलमा विजेता, उपविजेता र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद  परिषदका सदस्यसचिव केशवकुमार विष्ट, एन्फाका राष्ट्रिय मानार्थ उपाध्यक्ष किशोरकुमार राईलगायतले नगद पुरस्कार, सिल्ड तथा पदक वितरण गरेका थिए।

प्रकाशित: २० माघ २०७५ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App