काठमाडौं – युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार (आज) घरेलु टोलीविरुद्ध तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ। दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बाट सुरु हुनेछ।
एक साताअघि संयुक्त अरब इमिरेट्स (युएई) लाई निराश पार्दै पहिलो पटक एकदिवसीय खेलको शृंखला जितेको नेपालसामु आज तेस्रो तथा अन्तिम ट्वान्टी–२० सिरिजमा युएईलाई पुनः एक पटक निराश पार्दै पहिलो पटक ट्वान्टी–२० शृंखला जित्ने सुवर्ण अवसर हुनेछ।
नेपालले हालसम्म २ ट्वान्टी–२० शृंखला खेलेपनि कुनै पनि शृंखला भिœयाउन सकेको छैन्। २०१४ मा श्रीलंकामा भएको हङकङविरुद्धको ४ खेलको ट्वान्टी–२० शृंखला नेपालले १–० ले गुमाएको थियो। सुरुआती तीन खेल वर्षाले रद्द भएको थियो भने अन्तिम खेलमा नेपाल २ विकेटले स्तब्ध भएको थियो। त्यस्तै २०१५ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध ४ खेलको ट्वान्टी–२० शृंखला खेलेको थियो। जहाँ सुरुआती तीन खेल गुमाएको नेपालले अन्तिम खेलमा सुखद नतिजा ल्याए पनि अन्ततः शृंखला ३–१ ले गुमाएको थियो।
बिहीबार पहिलो ट्वान्टी–२० खेलमा युएईलाई २१ रनको नतिजा सुम्पिएको नेपालले शुक्रबार ४ विकेटको जित हात पार्दै तीन खेलको शृंखला १–१ को बराबरीमा ल्याएको थियो। दुवै खेलमा नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे पनि शीर्ष क्रमका ब्याट्सम्यान चल्न नसक्नु नेपालका लागि टाउको दुखाइ बनेको छ।
पहिलो खेलमा युएईले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा मात्र १ सय ३७ रन जोड्न सक्यो। मध्यक्रममा अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा डेब्यु गरेको सन्दीप जोराले अविजित ५३ रनको योगदान गर्दै नेपालको इनिङ उकासेका थिए। त्यस्तै शुक्रबार दोस्रो खेलमा पनि मध्यक्रमका दीपेन्द्रसिंह ऐरी र डेब्यु गरिरहेका पवन सर्राफले उत्कृष्ट साझेदारी गरेपछि नेपालले ४ विकेटको जितका साथ शृंखला १–१ को बराबरीमा ल्याएको थियो।
यस क्रममा ओपनर प्रदीप ऐरी र उपकप्तान ज्ञानेन्द्र मल्लले दोहोरो अंकसमेत छुन सकेका छैनन्। पहिलो खेलमा गोल्डेन डकआउट भएका विकेटकिपर ब्याट्सम्यान प्रदीपले दोस्रो खेलमा पनि ८ रन मात्र जोड्न सके भने पहिलो खेलमा १० बल खेल्दै ७ रन जोडेका ज्ञानेन्द्र दोस्रो खेलमा पनि १३ बलमा ७ रन मात्र जोड्न सके।
यता पहिलो खेलमा २५ रन जोडेका पारस खड्का दोस्रो खेलमा रन खाता नखोल्दै पवेलियन फर्किएका थिए। दुवै खेलमा प्रदीप र पारस ओपनिङ जोडीका रूपमा आए पनि दुवै खेलमा पहिलो विकेटको साझेदारी केवल १ रनमा टुटेको थियो।
प्रकाशित: २० माघ २०७५ ०४:०३ आइतबार