७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

टी–२० शृंखला जोगाउन नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं – युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार (आज) घरेलु टोलीविरुद्ध दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ। दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बाट सुरु हुनेछ।

हिजो भएको पहिलो टी–२० खेलमा पराजित भएको नेपाललाई सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेलमा जित्नैपर्ने दबाब छ। आजको खेल जित्नसके नेपालले शृंखला जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृंखला आफ्नो पक्षमा पार्नेछ।

एक दिवसीय शृंखला गुमाइसकेको घरेलु टोली यूएईका लागि टि–२० शृंखला जित्न गर या मरको अवस्थामा छ। पहिलो खेल गुमाएर पनि पछिल्ला दुई खेल जितेर एकदिवसीय शृंखला कब्जा जमाउन सफल नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ। घरेलु टोलीविरुद्धको दोस्रो खेलका लागि मैदानमा उत्रदा नेपाल शृंखला जोगाउने लक्ष्यमा हुनेछ।

पहिलो टि–२० खेलमा २१ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै तीन खेलको शृंखला एक–एक जीतको बराबरी गर्न चाहन्छ तर, घरेलु टोलीविरुद्ध नेपाललाई जीत निकाल्न निकै कठिन हुनेछ। टी–२० विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी–२० शृंखला जित्न सकेको छैन्।

शृंखला जिते यसपटक नेपालले अर्को इतिहास रच्नेछ। नेपालले हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलिसकेको छ। बंगलादेशमा सम्पन्न सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपालले त्यही वर्ष हङकङसँग श्रीलङ्कामा पहिलोपटक पाँच खेलको शृंखला खेलेको थियो तर, उक्त शृंखलाका चार खेल वर्षाको कारण रद्द भएको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग दुई विकेटले पराजित भएको थियो।

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० शृंखला खेलेको थियो। जसमा नेपालले शृंखला तीन–एक ले गुमाएको थियो। पहिलो रोजाइका ब्याट्सम्यानले रन बनाउन नसक्दा बिहीबारको खेलमा पराजित हुनुपरेको बताउँदै नेपाली टोलीका कप्तान पारस खड्काले बिहीबारको गल्ती सच्याउँदै आज मैदान उत्रने बताए।

प्रकाशित: १८ माघ २०७५ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App